इटहरीः घर नजिकैको कुखुरा फार्म भित्र संचालकको हत्या भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ९ का कुखुरा पालक किसान ४९ बर्षीय सहदेव बजगाईंको हत्या भएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

उनको शब बिहीबार बिहान करिब साढे १० बजे फार्ममा फेला परेको थियो । 

बजगाईंको टाउको तथा शरीरका अन्य भागमा गहिरो चोट देखिएको छ। घटनास्थलमा रगत लतपतिएको अवस्थामा बन्चरो र दाउरा फेला परेको छ।मृतकको शरीरमा बन्चरो र दाउले प्रहार गरेजस्तो चोट देखिएको कार्कीले बताए।

बजगाईंको खुकुरा फार्ममा काम गर्न एक दम्पती  बस्दै आएका थिए। घटनापछि दुबै जना फरार छन्। उनीहरूको खोजी भइरहेको कार्कीले बताए। मृतकको शव पोष्टमार्टमका लागि अस्पताल पठाएर घटनाको अनुसन्धान थालिएको कार्कीले बताए। हत्या फरार दम्पतीको हात हुन सक्ने प्रहरीको अनुमान छ ।