इटहरीः लोकप्रिय लोक गीतका सर्जक वरिष्ठ लोक गायक  एलपी जोशी (लक्ष्मीप्रसाद जोशी) को  बिहिबार साँझ निधन भएको छ । 

झापाको दमक निवासी जोशीको विर्तामोडको अस्पताल लैजाने क्रममा बाटोमै ८९ बर्षको उमेर निधन भएको दमकका संचारकर्मी कृष्ण कार्कीले जानकारी दिएका छन् । 

विसं १९९३ सालमा धनकुटा ६ बिचबजारमा जन्मिएका जोशीले जीवनभर लोकसंस्कृतिको क्षेत्रमा योगदान पुर्‍याएका थिए । बेलुकी परिवारसँग खाना खाएका जोशी सामान्य अवस्थामा रहेकोमा अकस्मात बिरामी परेर निधन भएकोकार्कीले जानकारी दिए  ।

 झापाको दमकस्थित घरमा रहेका जोशी बेलुकीको खाना खाएपछि अकस्मात बेहोस भएका थिए । उनलाई अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । 

७ जना दाजुभाइका छैटौं सन्तानका रुपमा रहेका जोशीका ५ दिदीबहिनी रहेको उनका कान्छा भाइ नारायण जोशीले बताए । बाल्यकालदेखि नै गीतसंगीत र फूटबल खेलका शौखिन उनी जीवनपर्यन्त लोकगायनमा रहेका थिए । ुसंस्कृतिको लागि देशमा योगदान गर्नुभयो,ु भाइ नारायणले भने, ुडेढ महिना पहिले भारतको इन्डियन युनभिर्सिटीले डाक्टरको मानार्थ उपाधि दिएको थियो ।ु उनी गत महिना राष्ट्रपतिबाट सम्मानित भएका थिए । लोकगीत सम्राटको उपाधिसमेत पाएको नारायणले सुनाए ।

सुगरको नियमित औषधि खानेबाहेक जोशीको अन्य स्वास्थ्य समस्या थिएन । जोशीका रेडियो नेपालमा रेकर्ड ४५ मध्ये अधिकांश गीत अझै पनि सर्वसाधारणले गुनगुनाउने गर्छन् । उनले २०१३ सालमा पहिलो गीत रेकर्ड गराएका थिए । ‘नेपालको माया, नेपाल कस्तो छ’ बोलको उक्त गीतले त्यसताका राम्रै जमेको जोशीले केही समय अगाडिको भेटमा सुनाएका थिए ।

२०२० साल पहिल्यै अधिकांश गीत रेकर्ड भएका थिए । २०२२ देखि २०२९ सालसम्म रेडियो नेपालमा जोशी र जनकवि केशरी धर्मराज थापाका गीतले एकछत्र राज गरेको थियो । २०११ सालदेखि थापासँग नजिकिएका उनी गाउॅ बस्तीका मौलिक गीतको खोजीमा जुट्दै हिँडे । त्यसै मेसोमा रिटिङ रिटिङ बजाउ बिनायो बोलको गीत संकलन गरियो । २०५३ सालमा आइपुग्दासम्म म्युजिक नेपालबाट रिटिङ रिटिङ नामको गीति एल्बम निकालेका थिए ।

जोशी बृद्ध उमेरमा समेत देश तथा विदेशका विभिन्न स्थानमा हुने सांगेतिक कार्यक्रममा युजा जोसका साथ सहभागी हुँदै आएका थिए । लोकसंगीतमै कर्म गर्दा गर्दै उनको निधन भएको हो । उनको निधनले नेपाली लोक संस्कृति र संगीतमा अपुरणीय क्षति पुगेको साधन संगीत प्रतिष्ठान इटहरीका अध्यक्ष राजु केसीले बताएका छन् । उनको निधन पछि धेरै संगीतकर्मीहरुले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफुहरुले आफ्ना अभिभावक र गुरु(बृबा) गुमाएको जनाउँदै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनको पार्थीव शरिरलाई आज(सुक्रबार) बिहानबाट दमक स्थित निवासमा श्रद्धाञ्जली अर्पणका लागि राखिने पारिवारिक स्रोतलाई उल्लेख गर्दे इटहरीका मुर्तीकार बिक्रमश्रीले जानकारी दिएका छन् ।