इनरुवाः  देशकै सबैभन्दा ठुलो नदी सप्तकोशीको कोशी ब्यारेज पुलमा सर्वसाधारणको चाप र बोलबम जानेहरूको आगमनलाई ध्यानमा राखेर पुलमा पैदल हिँड्न र चढ्न निषेध गरिएको छ । 

वार्षिक रूपमा कोशी ब्यारेज पुलमा चढ्ने र केहीले आत्महत्याको प्रयास समेत गर्ने गरेको तथ्यलाई ध्यानमा राखेर कोशी ब्यारेज प्रहरीले प्रवेश निषेध लेखिएको पेपर टाँसेर निषेध गरिएको हो ।कोशी र मधेस प्रदेशको सिमानामा पर्ने सप्तरी र सुनसरी जोड्ने कोशी ब्यारेज पुलमा चढ्न तथा ढोका नजिक भएर हिँड्न प्रवेश निषेध गरेको सूचना सहित प्रवेश निषेध लेखिएको पेपर टाँसिएको छ ।

भारत र नेपालको विभिन्न ठाउँबाट आएको मानिसहरूले पटकपटक हाम फालिरहेको अवस्थामा प्रहरीले उद्धार गर्नुपर्ने र साउन महिनामा बोलबमका लागि जल भर्न विभिन्न ठाउँबाट आएको मानिसहरूले समेत कोशी ब्यारेजको पुलबाट हाम फालेको विगतको घटनालाई ध्यानमा राखेर कोशी पुलमा प्रहरीले निषेध गरिएको पेपर टाँसिएको हो ।

प्रहरी चौकी कोशी ब्यारेजका प्रहरी नायब निरीक्षक सुभाषचन्द्र सुनुवारले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८०र०८१ मा ७५ जनाको उद्धार गरिएको छ । कोशी पुलमा घुम्न आएको र सेल्फी वा फोटो खित्ने बाहानमा आउने र अचानक हाम फालेर आत्महत्या गर्ने प्रयास गर्ने गरेकोले त्यसमा ध्यानमा राखेर निषेध क्षेत्र घोषणा गरेको सुनुवारले बताए । 

सुनुवारका अनुसार एक वर्षमा प्रहरीले ७५जनालाई विजितै उद्धार गरिएको छ । केहीको ज्यान समेत गएको विगतको अनुभवलाई ध्यानमा राखेर निषेध क्षेत्र सहित प्रहरी निगरानी बढाएको बताए। 

त्यसैगरी साउनमा कोशी पुलमा भव्य साउने मेला समेत लागेकाले आम नागरिकलाई सुरक्षा दिनु प्रहरीको जिम्मेवारी भएको भन्दै कोशी पुलमा चढ्नको लागि निषेध पेपर टाँसिएको प्रहरीले जनाएको छ ।

प्रहरीले नागरिकलाई सचेत गर्नको लागि निषेध क्षेत्र लेखिएको पेपर टाँसिएको स्थानीय पत्रकार देवराज यादवले बताए । आइतबारको बिहानैदेखि सोमबार बिहानसम्म कोशी पुलमा जल भर्नको लागि विभिन्न ठाउँबाट आएको भक्तजनहरूले कोशीपुलमा जल भरेर विभिन्न ठाउँको भोलेनाथ, शिव मन्दिरमा जल अपूर्ण गर्न जाने गरेका छन् ।