इटहरीः पृथ्वीनारायण शाहको जन्मदिनको अवसरमा नेपाल एकीकरण दिवस मनाउने क्रमको शुरुवात शाहको मृत्यु भएको १ सय ७८ वर्षपछि मात्रै औपचारिक रूपमा भएको हो । योगी नरहरिनाथले स्थापना गरेको बृहत आध्यात्मिक परिषद्का हालका महासचिव विश्व पोखरेलका अनुसार २००९ सालबाट पृथ्वी जयन्तीलाई नागरिक सहभागितामा मनाउन शुरु गरिएको हो ।
वि. सं. २०५९ फागुन १३ मा मृत्यु भएका नरहरिनाथले वि. सं. २००९ बाट नागरिकहरूको बृहत सहभागिताबाट पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउन अगुवाइ गरे । पछि, सरकारले पनि यो कुरामा सहयोग गरेर पृथ्वी जयन्ती मनाउन थालिएको थियो ।
नेपालमा दोस्रो जनआन्दोलन २०६२÷६३ पछि भने राज्यस्तरबाट पृथ्वी जयन्ती औपचारिक रूपमा मनाउन छोडिएको हो । पृथ्वी जयन्तीमा बिदा दिनुपर्ने चर्को माग उठे पनि बिदा नदिइएको भन्दै सरकारको आलोचना गणतन्त्र आएपछि हुँदै आएको छ । सरकारले औपचारिक रूपमा पृथ्वी जयन्ती नमनाए पनि नागरिकस्तरबाट भने मनाउने र आदर गर्नेहरू नेपालमा अत्यधिक छन् ।
को हुन् पृथ्वीनारायण शाह ?
२० वर्षको उमेरमा विसं १७९९ मा तत्कालीन गोरखा राज्यको राजा भएका पृथ्वीनारायण शाहको जन्म १७७९ पुस २७ गते गोरखामा भएको थियो । इतिहासका जानकार प्राध्यापक डाक्टर सुरेन्द्र केसीका अनुसार पृथ्वीनारायण शाहले गोरखाको सानो राज्य सम्हाल्दा आजको आधुनिक नेपालमा विभिन्न ससाना ५२ वटा र हालको भारतमा पनि ७ सय वटा राज्यहरू थिए ।
५२ वटा राज्यलाई जित्दै एक राज्य बनाउने र राजा बन्ने मनशायले पृथ्वीनारायण शाहले कास्की, नुवाकोट हुँदै काठमाडांै र आसपासका राज्यहरू कब्जा गर्दै गए । यसैको फलस्वरूप तत्कालीन बाइसे, चौबिसे र अन्य ससाना राज्यहरू शाहले जते । पृथ्वीनारायण शाहले ससाना राज्यहरूलाई एक राज्य बनाएकैले आजसम्म नेपाल कुनै देशको अधीनमा पर्न नसकेको इतिहासका जानकारहरूको भनाइ छ ।
पृथ्वीनारायण शाहले नै हालको नेपालको भूगोल कोरेको र ससाना राज्यहरू एकीकरण गरेर बलियो नेपाल बनाएको बताउँछन् । तत्कालीन समयमा आफू ठूलो राज्यको शासक बन्ने आकांक्षाकै कारण नेपालको राष्ट्रियता पनि बलियो बनेको उनीहरूको भनाइ छ । पृथ्वीनारायण शाहले नेपाललाई बलियो बनाएकैले नेपाल दक्षिण एशियामा आजसम्म उपनिवेश नबनेको गर्बिलो मुलुक बनेको प्रशंसकहरूको भनाइ छ । गोर्खा राज्यका राजा भए पनि आफूले कब्जा गरेको समग्र मुलुकको नाम भने नेपाल मान्न सहमत भएको भन्दै धेरैले पृथ्वीनारायण शाहलाई आदर गर्छन् ।
आलोचकहरू भने पृथ्वीनारायण शाहले युद्धको क्रममा थुप्रै युद्ध अपराध गरेको र नेपालको भूगोलको एकीकरण गरे पनि भावनाको एकीकरण नगरेको बताउँछन् ।