काठमाडौः  हरेक वर्ष दसैँका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैङ्कले यस पटक सुकिला नोटले काम चलाउने भएको छ ।दसैँतिहारलक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैङ्कले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको हो ।

खर्चको व्यवस्थापन गर्न राष्ट्र बैङ्कले केही वर्षअघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाए पनि अगाडि बढेको थिएन ।

राष्ट्र बैङ्कका सहायक प्रवक्ता डा.डिल्लीराम पोखरेलले पुराना सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने जानकारी दिए । यस पटक दसैँमा नयाँ नोट वितरण नहुने भन्दै पोखरेलले आवश्यक हुनेलाई बजारबाट फिर्ता आएकामध्येबाट सुकिला नोट दसैँमा दिने बताए ।

दसैँको मनोविज्ञान नै नयाँ नोटसँग जोडिएको हुँदा सर्वसाधारणलाई केही असजिलो लाग्ने भए पनि बिस्तारै सामान्य अवस्थामा आउने राष्ट्र बैङ्कको अपेक्षा रहेको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न र नोट छपाइ खर्च कम गर्न यस्तो निर्णय गरेको राष्ट्र बैङ्कले जनाएको छ ।

दसैँमा साना तथा ठुला दरका नोट आवश्यक हुनेलाई एक वर्षअघि बजारमा पठाएर फिर्ता आएका सुकिला नोट बैङ्कमार्फत सटही व्यवस्था मिलाइने प्रवक्ता पोखरेलले बताए । “ठुलो लागत लगाएर छापेको नयाँ नोट दसैँमा धेरै फोहोर हुने र त्यसको आयुसमेत घट्ने गरेको छ । यसकारण दसैँमा नयाँभन्दा पनि सुकिला नोट दिने तयारी गरेका छौँ,” उनले भने ।

दसैँतिहारका लागि ५, १० २०, ५० र १०० का साना दरका नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैङ्कले यस पटक सोही नोट सटहीको सुविधा दिने छ । यस पटक पनि प्रतिव्यक्ति १८ हजार पाँच सयकै हाराहारीमा नोट सटही गरिने राष्ट्र बैङ्कले जनाएको छ ।

दसैँमा नयाँ नोट छापेर बजारमा पठाउने, तिनै नोट चाडपर्वमा प्रयोग गर्दा छिट्टै बिग्रने गरेको हुँदा यसलाई कमी गर्न राष्ट्र बैङ्कले नयाँ नोट बन्द गर्न लागेको प्रस्ट पारेको छ । सामान्यतया नोटको दर अनुसार तीनदेखि चार वर्ष नोटको आयु हुने राष्ट्र बैङ्कले जनाएको छ ।

राष्ट्र बैङ्कका अनुसार पाँच वर्षको औसत हेर्दा नयाँ नोट छपाइका लागि नै एक अर्ब ३० करोड रुपियाँ बर्सेनि खर्च हुँदै आएको छ ।