इटहरीः संयुक्त अरब इमिरेट्स (यूएई)ले देशमा अवैध रूपमा बसोबास गर्नेहरूलाई लाइफलाइन प्रदान गर्दै भिसा आममाफी कार्यक्रम ल्याएको छ । यूएई सरकारले आफ्नो देशमा अवैध रूपमा बसेका विदेशी नागरिकको सहजताका लागि १ सेप्टेम्बरदेखि ३० अक्टोबरसम्म दुई महिनासम्मका लागि आममाफी दिएको छ ।

आइतबारदेखि आममाफी लागू भएको र बिनाभिसा लुकीछिपी यूएईमा रहेका जुनसुकै देशका नागरिकले बिनाजरिमाना र बिनासजाय आफ्नो देश जान वा काम र भिसा दिने स्पोन्सर पाएमा वैध रूपमा पुनः यूएईमै काम गर्न पाउने भएका छन् । ३० अक्टोबरसम्म चल्ने यो दुई महिनाको योजनाले नियम उल्लंघन गर्नेहरूलाई या त आफ्नो स्थिति नियमित गर्न वा प्रतिबन्ध, जरिमाना वा एक्जिट शुल्कबिना देश छोड्न अनुमति दिनेछ ।

यो नियम पर्यटन, भिसा सकिएका र कम्पनीबाट भागेका आप्रवासी कामदारको हकमा लागू हुनेछ । तर, बिनाभिसा यूएई प्रवेश गरेका व्यक्तिहरूमा भने यो नियम लागू हुनेछैन । यूएई सरकारले यो आममाफी कार्यक्रम ‘कानुनको सम्मान, सहिष्णुता, करुणा र सामाजिक एकता’लाई बढावा दिनका लागि गरिएको जनाएकोे छ ।

यो भिसा रेसिडेन्सी उल्लंघन गर्नेहरूलाई तिनीहरूको स्थिति सच्याउनका लागि एक सुव्यवस्थित र लचिलो प्रक्रिया प्रस्ताव गर्न डिजाइन गरिएको हो, या त सुरक्षित रूपमा देशबाट बाहिर निस्केर वा कानुनबमोजिम यूएईमा बस्न र काम गर्न जारी राख्न तिनीहरूको स्थिति समायोजन गर्न दिइएको अवसर हो । दुबईमा आमेर केन्द्रहरू र अल अविरमा रहेको रेसिडेन्सी र विदेशी मामिलाहरूको महानिर्देशनालय दुबई केन्द्रले यी सेवा प्रदान गर्नेछ ।

अबुधावीका बासिन्दाहरू अल धाफ्रा, सुवाइहान, अल मकाम र अल शाहमामा रहेका आईसीपी केन्द्रहरूमा जान सक्छन् । सोका लागि सेवा समय बिहान ७ देखि १० बजेसम्म विस्तार गरिएको जनाएको छ भने अनलाइनबाट पनि यो सेवा लिन सकिने यूएई सरकारले जनाएको छ ।

यस कार्यक्रमले म्याद सकिएको भिसा र राष्ट्रिय परिचयपत्रको जरिमानासहित ओभरस्टेसँग सम्बन्धित सबै दण्ड मिनाहा गर्नेछ । आफ्नो राहदानी हराएका आवेदकहरूले यात्रा कागजातहरूका लागि आईसीपी स्मार्ट प्रणालीमार्फत वा इमिरेट्सका आधारमा स्थानीय प्रहरी अधिकारीहरूलाई नोक्सानको शपथपत्र पेस गरेर आवेदन दिन सक्नेछन् ।

यूएई छोड्न चाहने १५ वर्षमाथिका आवेदकहरूका लागि फिंगर प्रिन्टिङ र बायोमेट्रिक डेटा निर्दिष्ट केन्द्रहरूमा प्रशोधन गर्न सकिन्छ । कार्यक्रमअन्तर्गत जारी गरिएका निकास अनुमतिहरू १४ दिनसम्मका लागि मान्य हुनेछन् । त्यसपछि कुनै पनि अघिल्लो जरिमाना र प्रतिबन्धहरू स्वतः पुनस्र्थापित हुनेछ । यसका लागि सम्बन्धित व्यक्तिले देश नछोडेको हुनुपर्नेछ ।

आममाफीका लागि कसरी आवेदन दिने भन्ने बारे थप विवरण र मार्गदर्शनका लागि व्यक्तिहरूले नजिकको सेवा केन्द्रमा जान वा आईसीपीको अनलाइन प्लेटफर्महरूमार्फत जानकारी लिन सक्नेछन् । यूएई सरकारले दिएको आममाफीबाट त्यहाँ अवैध रूपमा बसेका नेपाली कामदारले पनि स्वदेश फर्कन वा वैधानिक बन्ने प्रक्रियामा भाग लिन पाउनेछन् । 

भिसाको अवधि सकिएर बसेका, कम्पनीबाट भागेका, भिजिट भिसामा आएर ओभरस्टे भएका, राहदानी नभएका अबुधावीस्थित नेपालीले दूतावासको सहयोगमा आवश्यक कागजात बनाएर नेपाल फर्कन पाउनेछन् । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।