इटहरीः  आमा सुन्दर बिम्ब हुन् । मानिसलाई कुनै अफ्ट्यारो वा झट्ट केही समस्या पर्नेबित्तिकै पहिलो वाक्य नै आमा भन्ने फुत्कन्छ । आमा सृष्टि पनि हुन् । आफैँले जन्म दिएका जतिजना पनि छोराछोरीलाई आमाको माया बराबर हुन्छ भनिन्छ । के तिनै आमाले आफूले जन्म दिएको सन्तानलाई हत्या गर्न सक्छिन् रु यस्तो अपराध सोच्न पनि नहुने हो, तर मोरङमा भने यस्तै घटना भएको छ ।

मोरङको सुन्दरहरैँचा ७ स्थित केरा बगानभित्र दुई नाबालिकाको शव भेटिएको घटनामा आमाकै संलग्ना पाइएको प्रहरीले पुष्टि गरेको छ ।

गत शनिबार जिल्लाको सुन्दरहरैँचास्थित केरा बगानभित्र दिदी–बहिनीको शव फेला परेको थियो । धनकुटाको पाख्रीबास नगरपालिका–४ डिकुरे घर भइ सुन्दरहरैँचा–७ मा बस्दै आएका अर्जुन कार्की र अस्मिताका नाबालिका छोरीहरू १ वर्षीया आइका र ३ वर्षीया अर्पणा कार्की शनिबार दिउँसो ४ः३० बजेतिर मृत फेला परेका थिए ।

शुक्रबार साँझ नै बेपत्ता भएकी अस्मिताले सोही राति छोरीहरूलाई विष खुवाएर आफूले पनि आत्महत्याको प्रयास गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, प्रहरी उपरीक्षक नवराज कार्कीले बताए ।

सो घटनामा मृतक नाबालिकाकी आमा २१ वर्षीया अस्मिता पौडेल (कार्की)लाई प्रहरीले बुधबार पक्राउ गरी सार्वजनिक गरेको हो । केरा बगानभित्र दिदीले बहिनीलाई अंगालो हालेको अवस्थामा शव फेला परेको थियो । नाबालिकाहरूको शव भेटिएको स्थानमा कीटनाशक औषधि ‘मेटासिट’को बट्टा फेला परेको थियो । त्यही ‘मेटासिट’ खुवाएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी कार्कीले बताए । मृतक दुवै नाबालिकाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमपछि दुवै शवको अन्त्येष्टि गरिसकिएको छ ।

पक्राउ परेकी अस्मिताविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु गरिएको कार्कीले बताए । ‘बिर्तामोडस्थित सडकमा अस्वस्थ अवस्थामा फेला पारेर बुधबार ल्याएका हौँ,’ एसपी कार्कीले भने, ‘शारीरिक अवस्था निक्कै कमजोर भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।’ प्रहरीकाअनुसार पक्राउ परेकी अस्मितामा ‘मानसिक रोगी’जस्तो समस्यासमेत देखिएको छ ।

उनले छोरीहरूलाई विष खुवाएपछि आफूले पनि विष सेवन गरेको प्रहरीलाई बयान दिएकी छन् । ‘मलाई पतिले धेरै तनाव दिन्थे । ‘टर्चर’ सहन सकिन,’ उनले बयानमा भनेकी छन्, ‘त्यसपछि दुवै छोरीलाई लिएर हिँडे । मर्नलाई भनेर विष पनि लिएर गएकी थिएँ । छोरीहरूलाई मात्रै छाडेर एक्लै मर्न मन लागेन ।’

सुरुमा आफूले विष सेवन गरेको र छात्ती पोल्न थालेपछि छोरीहरूलाईसमेत खुवाएको उनले बताएकी छन् । आफूलाई श्रीमान अर्जनले पहिलेदेखि तनाव दिँदै आएका कारण यो घटना भएको उनले बताएकी छन् । उनले भनिन्, ‘यस्तो बाटो अपनाउन मन थिएन । घरमा कहिल्यै मेलमिलाप भएन । मलाई लामो समयदेखि ‘टर्चर’ थियो । सहन सकिन ।’

पछिल्लोपटक आफ्नो निर्माणाधीन घरमा पानी लगाउने विषयमा अर्जुनसँग अस्मिताको विवाद भएपछि उनीहरूका नाबालिका छोरीहरू आइका र अपर्णालाई विष खुवाएर हत्या गरेको खुलेको छ ।

प्रहरीका अनुसार अस्मिताको माइती संखुवासभाको मुढेशनिश्चरे हो । अर्जुनसँग २०७५ साल फागुन ९ गते प्रेम विवाह भएको थियो । उमेरले २१ वर्षमात्रै पुगेकी अस्मिताले १५ वर्षमै विवाह गरेको खुलेको छ । प्रेम विवाह गरेपछि किशोरावस्थामै छोरीहरू जन्मिएका थिए । कलिलो उमेरमै विवाह गरेकी अस्मिताले किशोरावस्थामै जेठी छोरी अर्पणालाई जन्म दिएकी थिइन् भने कान्छी छोरी एक वर्षकी मात्रै पुग्दैथिइन् । आफू २१ वर्ष पुग्दै उनले आफैँले जन्म दिएका छोरीहरूलाई विष खुवाएर आफूले पनि आत्महत्याको प्रयास गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमबहादुर दाहालका अनुसार घटनामा संलग्नता देखिएपछि अस्मितालाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।

‘श्रीमानसँगको विवाद भएर घरबाट बाहिर निस्किएको देखिन्छ । हामीले बुधबार जिल्ला अदालत मोरङबाट चार दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएका छौँ,’ एसएसपी दाहालले भने, ‘बच्चा मृत फेला परिवार पनि विक्षिप्त छन् । तर, अनुसन्धान भने अगाडि बढाएका छौँ ।’

उनका अनुसार पक्राउ परेकी अस्मिताले पनि विष सेवन गरेको खुलेको छ । उनको अहिले विराटनगरस्थित कोसी अस्पताल विराटनगरमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।

‘घटना भएकै स्थान आसपास रहेको आशंकामा खोजी व्यापक बनाएका थियौँ, कोशी प्रदेशका सबै प्रहरी कार्यालयमा उनको फोटो पठाएर खोजी गरेका थियौँ, दाहालले भने, ‘घटनास्थलमै मोबाइल पनि छाडेर गएका कारण घटनामा संलग्नलाई पक्राउ गर्न केही दिन ढिलाइ भएको हो ।’

घटना भइसकेपछि उनलाई केही म्यासेजहरूसमेत पठाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

‘केही एसएमएसहरू पनि पठाएको देखिएपछि अनुसन्धान नजिक पुगेका छौँ,’ उनले भने, ‘अब अनुसन्धानले के देखाउँछ भन्ने’दयगत खुल्न बाँकी छ ।’ विष खुवाएर हत्या गरिसकेपछि अस्मिताले अर्जुनलाई ‘तेरा छोरी मारिदिइसकें, म पनि मर्छु’ भनेर मोबाइलमा म्यासेज पठाएको पाइएको छ ।

प्रहरीले अहिले अर्जुनलाई पनि निगरानीमा राखेको एसएसपी ढकालले जानकारी दिए । खासगरी नयाँ निर्माणाधीन घरमा पानी लगाउने विषयमा विवाद भएपछि घटनाले यो रूप लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतक नाबालिकाहरूको पोस्टमार्टम रिपोर्ट आएपछि बाँकी घटना’दयगत खुल्ने उनको भनाइ छ ।

‘महिलाले पनि विष सेवन गरेको तर शरीरमा फैलिइनसकेको खुलेको छ,’ उनले भने, ‘अहिले उपचार भइरहेको छ । थप अनुसन्धान पनि जारी छ ।’ यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।