काठमाडौँः कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले दुग्ध क्षेत्र नेपालको कृषि अर्थ व्यवस्थाको महत्त्वपूर्ण क्षेत्र भएको बताएका छन् ।

राष्ट्रिय दुग्ध विकास बोर्ड र केन्द्रिय दुग्ध सहकारी सङ्घले आज ललितपुरमा आयोजना गरेको अन्तरक्रियामा मन्त्री अधिकारीले नीजि र सरकारी दुवैले दुग्ध किसानको रकम भुक्तानी गर्नुपर्नेमा जोड दिँदै दूधको रकम भुक्तानीका लागि डिडिसीलाई सरकारले दिएको ६० करोड रुपैयाँ किसानको हातमा जानुपर्नेमा जोड दिए ।

मुलुकलाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउन दुग्ध सहकारीहरूको भूमिका महत्त्वपूर्ण रहेको भन्दै मन्त्री अधिकारीले दुग्ध किसानले भोगेका समस्याबारे आफू जानकार रहेको र समस्या समाधानमा मन्त्रालय लागिपरेको बताए।

मन्त्री अधिकारीले दुग्ध बिकास संस्थानलाई व्यावसायिक बनाउने कार्यको सुरुवात भैसकेको बताउँदै यी निकायमा किसानको समेत प्रतिनिधित्व हुने गरि व्यवस्था मिलाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

हाल ६४ जिल्लामा १८७५ वटा दुग्ध सहकारी सस्थाहरु रहेको र वार्षिक १० अर्ब रुपैयाँको दूधको कारोबार हुने गरेको केन्द्रिय दुग्ध सहकारी सङ्घले जनाएको छ ।