धनकुटाः धनकुटाको तत्कालीन कुुरुलेतेनुपा गाविसलाई धनकुटाको कर्णाली भनेर चिनिन्छ । शिक्षा, स्वास्थ्य, सडक, खानेपानीलगायतका विभिन्न समस्या देखाउँदै अवसर र सुविधाको खोजीमा यहाँबाट सुगम क्षेत्रमा बसाइँ सर्ने क्रम तीव्र छ ।

गाउँमा भविष्य छैन भन्दै बसाइँ सर्दा गाउँ नै रित्तिने अवस्थामा पुगेको छ । तर काम गरे यहीँ पनि प्रशस्त सम्भावना छ भन्ने उदाहरण दिँदै कुरुलेका दीपक दाहाल बाख्रा पालनबाट आफ्नो भविष्य खोजिरहेका छन् ।

चौबिसे गाउँपालिका बडा नम्बर ३ कुरुलेका दीपक दाहालले बाख्रा पालन शुरु गरेको ६ वर्ष भएको छ । एक समय जिल्लाकै शिक्षित व्यक्तिको बसोबासभूमि भनेर चिनिने कुरुलेतेनुपाबाट पछिल्लो समय धेरै मानिस बाहिरिए पनि उनी भने बाहिरिएनन् ।

bakhrapalan dkt pradeshportal

उनी कुरुलेमै बाख्रा पालनमा आफ्नो भविष्य खोजिरहेका छन् ।
दाहालको समकक्षी गाउँमा कोही पनि भेटिँदैनन् । न त नयाँ पुस्ता नै भेटिन्छन् । तर उनी भने बाख्रा फार्ममै रमाइरहेका भेटिन्छन् । गाउँभन्दा अलि तल करिब ५० रोपनी क्षेत्रफलमा आधुनिक खोर बनाएर उनले करिब २ सय बाख्रा पालन गरेका छन् । बाख्रा पालन तत्कालको लागि भन्दा पनि दीर्घकालीन आम्दानीको राम्रो स्रोत भएको उनको भनाइ छ । उनी भन्छन्, ‘अहिले लगानी गरेर भरे नै प्रतिफल प्राप्त हुन्न । तर दीर्घकालमा आम्दानी राम्रो दिन्छ ।

bakhrapalan dkt (3)

आफ्नो गाउँमा सम्भावना छैन भन्दै अवसरको खोजीमा बसाइँ सर्ने चलन बढिरहँदा दाहालले गाउँमै शुरु गरेको बाख्रा पालन व्यवसाय निकै प्रशंसायोग्य छ ।
गाउँमा शुरुशुरुमा बाख्रा पालन गर्न अलि समस्या भए पनि अहिले कुनै समस्या नरहेको उनी बताउँछन् । सामान्य बाटो पुगेपछि बाख्रा किन्न व्यापारी गाउँमै पुग्ने गरेका छन् । उनलाई न त बजारको समस्या छ न त बाख्राको लागि चाहिने घाँस, अन्न दानापानी ल्याउन नै समस्या छ ।

bakhrapalan dkt (2) -
सवारी साधन उनको फार्मसम्म नै पुग्ने गरेको छ । उनले अहिले खर्च कटाएर वार्षिक ८ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । गाउँ छाडेर बसाइँ सरी जानेलाई यहीँ प्रशस्त सम्भावना भएको भन्दै गाउँ फर्किएर जग्गा बाँझो नराखी कृषिकर्म गर्न सुझाव दिन्छन् । ‘जग्गाजमिन बाँझो नराखी जे गरे पनि आम्दानी दिन्छ’, उनी भन्छन् ।
उनले बोयर जातको बोका, बाख्रा र आधुनिक खोर जग्गा आदिको लागि करिब ३५ लाख रुपैयाँ खर्च गरिसकेका छन् । लगानी अझै बढाउँदै जाने उनको सोच छ । उनले भने, ‘अझै लगानी गर्छु । आफ्ना सन्तानले पनि कृषिमै भविष्य खोजून् भन्ने चाहना छ ।’

bakhrapalan dkt (1) - Copy copy

Maghesankranti Mahotsav