बिराटनगरः कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा प्रहरीले अवैध गाँजा खेती फडानी गर्ने कार्यलाई तीब्र पारेको छ । धनकुटा र भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु प्रहरीले फडानी गरी नष्ट गर्दै आईरहेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८१ अन्तरतग अबैध रुपमा लगाएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङ,भेडेटार, प्रहरी चौकी आँखीसल्ला र त्रिवेणीबाट परिचालन भएको प्रहरी टोलीले शहिदभुमी गाउँपालिकाका बिभिन्न एरिया इलाकाहरुका १७ रोपनी क्षेत्रफलमा प्राकृतिक रुपमा डाँडा पाखामा हुर्केका २४ हजार ४ सय गाँजाकाबोटहरु फडानी गरी जलाई नष्ट पारेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले जानकारी दिए ।

प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दाहालका अनुसार भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटार, भोजपुर बाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिका बिभिन्न एरिया इलाकाहरुको करिव १८ रोपनी पाखा बारीमा लगाएको १४ हजार १ सय गाँजाको बोट फडानी गरी जलाई नष्ट गरेको छ ।

पछिल्लो केहि समय देखि कोशी प्रदेशमा बिरामी बोकेर गुड्ने एम्बुलेन्स तथा सब्जी बोक्ने गाडीहरुले धमाधम गाँजाको ओसारपसार गरिरहेका छन् । कोशीका विभिन्न जिल्लाहरुमा प्रहरीले गाँजा फडानीलाई तीब्र दिईरहेको बेला एम्बुलेन्सले गाँजा तस्करी गरेपछि प्रहरीलाई थप चुनौती बढेको देखिन्छ ।

प्रहरीले सुनसरी , मोरङ , झापा , धनकुटा, भोजपुर , तेह्रथुम , संखुवासभा, सिरहा , सप्तरी लगायतका जिल्लाहरूमा प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियान जारी राखेको छ। यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।