इटहरी: फरवार्ड माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडको बाह्रौँ वार्षिक साधारण सभा शुक्रवार सुनसरीको दुहबीमा रहेको दिनेश स्मृति भवनमा सम्पन्न भएको छ ।
साधारण सभा उद्घाटन गर्दै प्रमुख अतिथि सङ्घीय सांसद भगवती चौधरीले वर्तमान विश्व नै आर्थिक मन्दीको चपेटामा परेको बेलामा पनि नेपालका लघुवित्त संस्थाले ५९ लाख विपन्न सदस्यहरूलाई वित्तीय सेवा पु¥याइरहेको बताइन ।
चौधरीले ग्रामीण महिला उत्सुकता विकास मञ्चले २०५३ मा दुई रुपियाँ बचत गर्ने सदस्यहरूबाट बचत कार्यक्रम आरम्भ गरेको प्रसङ्ग स्मरण गर्दै गरिब वर्गकै बचत तथा वाणिज्य बैङ्कबाट प्राप्त कर्जा परिचाल लघुवित्त संस्थाहरूले ऋण प्रवाह गरिरहेकाले कसैले चाहँदैमा ऋण मिनाहा हुन नसक्ने धारणा व्यक्त गरिन ।
साधारण सभामा वित्तीय संस्थाका अध्यक्ष केशवराज पौडेलद्वारा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको थियो ।
सभाले शेयरधनीहरुलाई १३.३० प्रतिशत बोनस शेयर तथा कर समायोजन प्रयोजनका लागि ०.७० प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको निर्णयलाई अनुमोदन गरेको थियो । बोनस शेयर वितरण पछि वित्तीय संस्थाको चुक्ता पुँजी रु.१अर्ब १९ करोड ५९ लाख ५२ हजार ८७९ हुनेछ ।

लेखा परीक्षकको प्रतिवेदनसहितको २०८१ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०८०/८१ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू, लेखा परीक्षण समितिले सिफारिस गरेबमोजिम वित्तीय संस्थाको आर्थिक वर्ष २०८०/८१ को कारोबारको लेखा परीक्षण गर्नका लागि लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने विषयलाई साधारण सभाले पारित गरेको फरवार्ड माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडका सामान्य प्रशासन विभाग प्रमुख तथा प्रबन्धक विनोद कुमार चौधरीले जानकारी दिए ।
सभामा वित्तीय संस्थाले २०८१ असार मसान्तसम्म ४० जिल्लाका ३८२ स्थानीय तह अन्तर्गत १५९ शाखा कार्यालयमार्फत २ लाख ८४ हजार ९६५ विपन्न परिवारका सदस्यहरूलाई वित्तीय सेवा प्रदान गरिरहेको बारे जानकारी गराइएको थियो ।
साथै यस अवधिमा वित्तीय संस्थाले २० अर्ब ९० करोड ९२ लाख ५५ हजार कर्जा प्रवाह गरेको जानकारी गराइएको थियो ।

उक्त सभामा विशिष्ट अतिथिका रूपमा बोल्दै गढी गाउँपालिकाका अध्यक्ष तथा फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाका पूर्व प्रमुख कार्यकारी अधिकृत आसनारायण चौधरीले यस लघुवित्त संस्थाले विपन्न ग्राहक सदस्यहरूको जीवनस्तर उकास्ने र युवाहरूलाई रोजगारी दिइरहेकोमा सन्तोष व्यक्त गर्दै वर्तमान समयमा नेपालकै लघुवित्त क्षेत्रमा देखिएका विषम अवस्थालाई चिर्न सबै पक्षले आफ्नो क्षेत्रबाट कार्य गर्नुपर्ने धारणा व्यक्त गरे।

प्रमुख कार्यकारी अधिकृत रामदयाल राजवंशी साधारण सभामा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । उनले अहिले लघुवित्तको क्षेत्रमा देखिएको जटिल अवस्था बिस्तारै सामान्यतर्फ उन्मुख रहेको बताए । उनले वित्तीय संस्थाले शेयर सदस्यहरूलाई तुलनात्मक रूपमा सन्तोषजनक लाभांश वितरण गरेको बताउँदै यस साधारण सभामा प्रस्तुत सुझावहरूलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सभामा सञ्चालक सदस्य प्रा.डा.श्यामकुमार महतो तथा सञ्चालक जगतजङ्ग जी.सीले पनि मन्तव्य व्यक्त गरेका थिए ।
कम्पनी सचिव कृष्णप्रसाद भट्टराईद्वारा सञ्चालित उक्त साधारण सभामा ग्रामीण महिला उत्सुकता मञ्चका उपाध्यक्ष कलावती थरुनी, वित्तीय संस्थाका सञ्चालक आशुतोष शर्मा, बलराम चौधरी, कमलसिंह राजवंशी, संस्थापक तथा सर्वसाधारण शेयर धनी तथा ग्राहक सदस्यहरूको उपस्थिति रहेको थियो ।