इटहरी: वित्तीय साक्षरता अभिवृद्धि गरी वित्तीय प्रणालीलाई सघाउ पुर्याउने उद्देश्यले गरिमा विकास बैङ्कले मोरङको टंकिसिनुवरीमा विद्यार्थीहरू बिच वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
समाजका हरेक वर्ग र क्षेत्रमा वित्तीय साक्षरता सञ्चालन गदै आएकोमा बैङ्कले बुढी गङ्गा गाउँपालिका वार्ड २ को नर ग्राम माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू बिच वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
सो कार्यक्रममा गरिमा विकास बैङ्कका क्षेत्रीय कार्यालय इटहरीका क्षेत्रीय प्रमुख दीपेन्द्र पोखरेलले हाल देखिरहेको र भविष्य हुन सक्ने वित्तीय समस्याबाट हुन सक्ने जोखिमको लागि विद्यालयको आधारभूत तहबाट नै वित्तीय साक्षरता आवश्यक रहेको कुरामा जोड दिए ।

कार्यक्रम गरिमा विकास शाखा कार्यालय टंकीसिनुवरीका शाखा प्रमुख सुवास बस्नेतको अध्यक्षता र सहजिकरणमा, नर ग्राम माध्यमिक विद्यालय टंकीसिनुवारीका प्रधानाध्यापक कैलाश केसी पौडेलको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रम गरिमा विकास बैङ्कका क्षेत्रीय कार्यालय इटहरीका क्षेत्रीय प्रमुख दीपेन्द्र पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रमको सञ्चालन गरिमा विकास बैङ्कका क्षेत्रीय कार्यालय इटहरीका अधिकृत सूर्य प्रसाद पौडेलले गरेका थिए । कार्यक्रममा नर ग्राम माध्यमिक विद्यालयमा अध्ययनरत १५० जना विद्यार्थीहरू तथा शिक्षकहरूको सहभागिता रहेको थियो।
बालबालिकाहरूको सुनिश्चित र उज्ज्वल भविष्यको निर्माणको लागि सानै देखि बचतको महत्त्व र बचत गर्ने बानी बसाल्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमले आर्थिक सुरक्षा, वित्तीय व्यवस्थापन, बचत र खर्चको सन्तुलन, डिजिटल ज्ञान आदि बारेमा विद्यार्थीहरूले जानकारी लिएको विश्वास गरिमा विकास बैङ्कले लिएको छ ।