इटहरीः वित्तीय साक्षरता आभिवृद्धि गरी वित्तीय प्रणालीलाई सघाउ पुर्याउने उद्देश्यले गरिमा विकास बैंकले समाजका हरेक वर्ग र क्षेत्रमा वित्तीय साक्षरता सञ्चालन गदै आएकोमा मंगलबार शाखा कार्यालय विराटनगर मार्फत नेपाल प्रहरी कोशी प्रदेशको प्रादेशिक कार्यालय विराटनगरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम गरिमा विकास बैंक, शाखा कार्यालय विराटनगरकी शाखा प्रमुख रक्षा भट्टको अध्यक्षता र नेपाल प्रहरी कोशी प्रदेश, प्रादेशिक कार्यालय बिराटनगरका प्रमुख भिमप्रसाद दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
गरिमा विकास बैंकका क्षेत्रीय कार्यालय इटहरीका अधिकृत सुर्यप्रसाद पौडेलले वित्तीय साक्षरता, डिजिटल बैंकिङको महत्त्व ,सम्भावित जोखिम र न्यूनीकरणका उपायको बारेमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा नेपाल प्रहरी कोशी प्रदेश, प्रादेशिक कार्यालय बिराटनगरका प्रमुख भिमप्रसाद दाहालले नेपाल प्रहरी संगठनलाई गरिमा विकास बैंकको यस कार्यक्रमले थप बैंकिङ शिक्षा प्राप्त गर्ने र वित्तीय अनुशासन कायम गर्न मद्दत गर्ने कुरा बताएका थिए । कार्यक्रममा एक सय जना नेपाल प्रहरीको सहभागिता रहेको थियो ।
यो कार्यक्रमले आर्थिक सुरक्षा, वित्तीय व्यवस्थापन, बचत र खर्चको सन्तुलन, डिजिटल ज्ञान आदि बारेमा नेपाल प्रहरीले जानकारी लिएको विश्वास गरिमा विकास बैंकले लिएको छ ।