इटहरीः मृगको मासुसहित प्रहरीले सुनसरीको बराहक्षेत्र–१ बाट दुईजना सिकारीलाई पक्राउ गरेको छ  ।

सोमबार बिहानै करिब २ बजे तल्लो बगुवा टोलमा भान्सा घरमा मृगको मासु काटिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ४४ वर्षीय मनबहादुर राई र ४२ वर्षीय राजेन्द्र राईलाई ३ नाल भरूवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरी र इलाका प्रहरी कार्यालय, चतरा सुनसरीबाट खटिएको संयुक्त टोलीले भरूवा बन्दुक र मृगको मासुसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सूचना शाखाले जानकारी दिएको छ ।