इटहरी/ घटना नम्बर १: गत बैशाख १५ गते इटहरी– ४ मा रहेको नारायण शर्माको घरमा आगलागी भयो । ४५ लाख बराबरको जिन्सी क्षति गरेको सो आगलागीले श्रेष्ठको घरमा व्यापार गर्ने चार परिवारलाइ ठूलो आर्थिक क्षति भयो । श्रेष्ठको कच्ची घरमा बिजुली सर्ट भई भएको आगलागीले बालकुमारी राई, मनकुमारी राई, पदम अधिकारी र विक्रम श्रेष्ठको आर्थिक क्षति भयो ।
घटना नम्बर २: इटहरी–४ कै जयनारायण चौधरीको घरमा पनि गत बैशाख २१ गते आगलागी भयो । चौधरीको पक्की घरमा बिजुली सर्ट भई लागेको आगलागीले ५ लाखको क्षति भएको पीडित परिवारको भनाइ छ ।
घटना नम्बर ३: यही जेठ ७ गते इटहरी–६ का राम प्रसाद काफ्लेको घरमा पनि आगलागी भयो । बिजुली सर्ट भएर भएको आगलागीले काफ्लेको पक्की घरमा व्यवसाय गर्नेको करोडौँको क्षति पुगेको व्यवसायीको भनाइ छ ।
हालैका २५ दिन यता भएका माथिका सबै आगलागीका घटना इटहरी बजार आसपासका हुन् । इटहरी चोकबाट केही मिनेटमै पुग्न सकिने यस्ता स्थानमा समयमै दमकल नपुगेकाले ठूलो क्षति भयो । समयमै दमकल पुगेको भए केही लाखको मात्रै क्षति हुने भए पनि समयमै दमकल नपुग्दा करोडौँको क्षति भएको स्थानीयको गुनासो छ । हाल उपमहानगरमा भएका २ वटा दमकलमध्ये एउटा मात्रै कामकाजी अवस्थामा छ । अर्को एक दमकल बिग्रिएकाले काम गरेको छैन ।
राजधानी माग्ने शहरसँग छैन तन्दुरुस्त दमकल: स्थानीय
पूर्वको केन्द्रमा रहेको इटहरीको दमकलले इटहरी मात्रै नभएर इटहरी आसपासका क्षेत्रको आगलागी पनि नियन्त्रण गर्नुपर्ने हुन्छ । तर, इटहरीभित्रैको आगलागी नियन्त्रण गर्न दमकलको अभावले असहज बनेको इटहरीका स्थानीय बताउँछन् ।
नागरिक समाज इटहरीका सदस्य तथा पूर्व अन्तरराष्ट्रिय खेलाडी सुरेन्द्र तामाङ इटहरीजस्तो २ लाख हाराहारी जनसंख्या र ४० हजार हाराहारी घर भएको क्षेत्रमा बिग्रेको दमकल हुनु अनि चालु अवस्थामा रहेको दमकल पनि बिग्रिइरहनुमा नगरको हेलचेक्र्याइँ भएको बताउँछन् । उनी भन्छन्, ‘दमकलजस्तो अत्यन्तै संवेदनशील साधनमा पनि हेलेचेक्र्याइँ गर्नु राम्रो कुरा होइन ।’
वार्षिक १५ करोड हाराहारी आन्तरिक आम्दानी गर्ने इटहरीमा एउटा दमकल पनि मर्मत नहुनु विडम्बनापूर्ण विषय भएको बताउँछन् नेकपा इटहरीका प्रभावशाली नेता सागर सुवेदी । सुवेदीका अनुसार जनजीविका र जनताको दैनिकीसँग जोडिएको दमकल पर्याप्त नहुनुले इटहरीकै बेइज्जत भएको छ । सुवेदी भन्छन्, ‘जनप्रतिनिधिहरू आएपछि पनि जनताका संवेदनशील समस्या समाधान नहुनु धेरै दुःखद कुरा हो । अब यस्ता खाले काममा तत्काल समाधान खोज्नुपर्छ ।’
राजधानी मागिरहेको इटहरी जस्तो प्रदेश १ को केन्द्रीय शहरमा दैनिक अत्यावश्यक दमकल पनि पर्याप्त नहुनुले राम्रो सन्देश नजाने नेपाली कांग्रेसका नेता रमेश पोखरेल बताउँछन् ।
दमकल नभएको गुनासो छैन : कार्यवाहक प्रमुख पशासकीय अधिकृत
यसरी इटहरीमा १ महिनाभित्रै ३ वटा ठूला आगलागीका घटना भए पनि उपमहानगर भने मौन छ । बिग्रेको दमकल मर्मतमा उपमहानगरले कुनै चासो देखाएको छैन । यस बारेमा बुझ्दा इटहरी उपमहानगरपालिकाका कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र कोइराला भने इटहरीमा दमकल नभएको भनी कुनै गुनासो नआएको तर्क गर्छन् । पूर्वी बजारसँग टेलिफोन कुराकानी गर्दै अधिकृत कोइरालाले भने, ‘इटहरी उपमहानगरपालिकामा एउटा दमकल बिग्रेको छ तर दमकल अभाव भयो भनेर कसैको पनि गुनासो आएको छैन ।’
‘प्रमुख प्रशासकीय अधिकृतले आर्थिक अधिकार नदिएर समस्या’
हप्तौँ अगाडि बिग्रेको दमकल मर्मत गर्न नसकेको आरोप लागिरहँदा उपमेयर लक्ष्मी गौतम भने बिदामा रहेका प्रमुख प्रशासकीय अधिकृतले आर्थिक अधिकार नदिँदा समस्या भएको बताउँछिन् । गौतमका अनुसार विदेश तालिममा गएका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर अधिकारीले कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र बराललाई आर्थिक अधिकार दिएका छैनन् । ‘प्रमुख प्रशासकीय अधिकृतको ठूलो असहयोगका कारणले कुनै आर्थिक काम अगाडि बढ्न सकेका छैनन्’, उपमेयर गौतमले भनिन्, ‘बिदा लिए पनि आर्थिक अधिकार कार्यवाहकलाई नदिँदा एउटा पनि चेक साइन भएको छैन ।’
जनप्रतिनिधिहरूलाई चेक साइन गर्ने अधिकार नभएकाले सामान्य भन्दा सामान्य खर्च गर्न पनि असजिलो भएको उपमेयर गौतमको तर्क छ । तर, स्थानीयवासीहरू भने दमकलजस्तो संवेदनशील साधनको मर्मत जसरी गरेर भए पनि जनताको काम हुनुपर्ने तर्क गर्छन् । इटहरी उपमहानगरपालिकाका नेकपाकै एक वडाध्यक्ष प्रश्न गर्छन्, ‘धरानले बाँकीमै काम लगाएर धनकुटे रोडको पुल बनायो भने इटहरीले दमकलको एक पार्टस् पनि मर्मत गर्न किन सक्दैन ?’