इलामः मेची राजमार्गको राजदुवालीका लागि वैकल्पिक सडक धेरै छन् तर कतै बजेट अभावले मर्मत रोकिएका छन्, कतै लागेको ठेक्काको काम ज्यादै सुस्त गतिमा छ । ठुला सवारी साधनसमेत चल्न सक्ने केचना–कञ्चनजङ्घा मार्गमा कालोपत्रेसम्मका ठेक्का लागेका छन् । तर, कामको गति कछुवा गतिमा छ ।

यतिसम्म कि, नेता र जनप्रतिनिधि नै प्रत्यक्ष संलग्न भएका निर्माण कम्पनीले जिम्मा लिएको ठेक्काको म्याद पटक–पटक सकिँदा पनि ४० प्रतिशतभन्दा बढी भौतिक प्रगति हुन सकेको छैन ।वैकल्पिक भनिएको सिमल गोलाई–जोगमाई–तिल्केनी सडकमा बर्खामा गाडी चल्ने अवस्था छैन ।

निर्माणाधीन केचना–कञ्चनजङ्घा मार्गको काम ज्यादै सुस्त गतिमा भइरहँदा बर्खामा यो सडक पनि विकल्प बन्ने अवस्था छैन । त्यति मात्र होइन, यही मार्गमा पर्ने पुवा खोलामा पुल हाल्नुपर्नेछ तर पुलका लागि अहिलेसम्म कुनै बजेट विनियोजित छैन ।

राजदुवाली सडक खण्ड जोखिम बनेर यातायात सम्पर्क टुट्ने अवस्था आएपछि इलामका नागरिक खबरदारीका साथ सडकमा उत्रिएका छन् । माईखोलाको राजदुवाली छेउको सडक भत्किएको खण्ड मर्मत वा वैकल्पिक सडक तुरुन्त व्यवस्था गर्नुपर्ने भन्दै नागरिक सडकमा उत्रिएका छन् ।

नागरिकले स्वतःस्फूर्त रूपमा शान्तिपूर्ण जनदबाब सिर्जना गर्न इलामको चोक बजारमा कोणसभा गरी जिल्ला प्रशासन कार्यालय र सडक डिभिजन कार्यालयमा पुगेर ध्यानाकर्षण गराएका हुन । जिल्ला स्थित सरोकारवाला निकायमा पुगेर राजमार्ग मर्मत वा वैकल्पिक मार्गको काम तुरुन्त सम्पन्न गर्न माग राखेका थिए ।

1737365649742

इलाम उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष ईश्वर चिपालु, होटेल व्यवसायी प्रकाश चापागाईँ, व्यवसायी केशव खनालले जनदबाबको लागि अगुवाइ गरेका हुन । सडकमा मात्रै होइन इलामे नागरिकले सामाजिक सञ्जालमार्फत जनदबाब सिर्जना गर्न आग्रह गरिरहेका छन् ।

इलाम, पाँचथर र ताप्लेजुङसम्म आउ–जाउ गर्ने मेची राजमार्ग कुनै पनि हालतमा बन्द हुन नदिन खबरदारी गर्नुपरेको व्यवसायी चापागाईँले बताए । ‘अब पनि चुप लागेर बस्ने हो भने पानी पर्ने बित्तिकै इलाम, पाँचथर र ताप्लेजुङका बासिन्दा दैनिक उपभोग्य सामग्री अभावले धर् धरी रुनुपर्नेछ अवस्था आउन नदिन खबरदारी गर्नुपरेको बताए ।

इलामका अगुवा गोपाल नेपाल सामाजिक सञ्जालमै नेपाल सरकारका यातायात मन्त्रीलाई सम्बोधन गरी लेख्छन् र इलाम, पाँचथर तथा ताप्लेजुङबाट निर्वाचित सांसदलाई समेत बोधार्थ दिन्छन्– ‘बर्खा सुरु हुनासाथ मेची राजमार्गको अवस्था के होला रु बाटो बन्द भएपछि हतार–हतार के–के न गरेजस्तो गरेर सामाजिक सञ्जाल भर्नुभन्दा बेलैमा लागौँ । यसलाई लैनो गाई नबनाऔँ ।’

इलाम क्षेत्र १ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतले राजदुवालीको मेची राजमार्ग मर्मत र वैकल्पिक सडकका लागि सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा निरन्तर सम्पर्क भइरहेको बताएका छन् । उनले भौतिक पूर्वाधार मन्त्री, सडक विभागका महानिर्देशक र सम्बन्धित निकायसँग आफूले लिखित, मौखिक र सबै हिसाबले आफूले ध्यानाकर्षण गरिरहेको जनाएका छन् । ‘मैले भौतिक पूर्वाधार र अर्थ मन्त्री, सडक विभागका महानिर्देशकलाई पत्र लेखेर र भेटेर पनि भनेको छु,’ बस्नेतले भने, ‘संसद्को पूर्वाधार समितिमा राजदुवालीको विषय उठाइ निर्णय नै गराएर सरकारको ध्यानाकृष्ट गरेको छु ।’

1737365643846

उनले सडक विभागले केही समयभित्र राजदुवालीछेउको राजमार्ग मर्मतका लागि बजेट आउने जानकारी दिएको पनि बताए । ‘मेची राजमार्ग मर्मत र वैकल्पिक सडकका लागि मैले निरन्तर सम्पर्क गरेपछि सडक विभागले केही समयभित्र बजेट आउने जबाफ दिएको छ,’ बस्नेतले भने, ‘अझै पनि निरन्तर लागिरहने नै छु । राजदुवालीको मेची राजमार्ग निकै जोखिमपूर्ण रहेको र आउँदो बर्खामा जसरी पनि सवारी अवरुद्ध हुन नदिन सबैसँग समन्वयसमेत गर्ने उनको भनाई छ ।


इलाम क्षेत्र २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङले मेची राजमार्गको राजदुवाली–गोलाखर्क भञ्ज्याङ खण्ड मर्मतका लागि आफू निरन्तर सम्बन्धित मन्त्रालय र विभागमा धाइरहेको बताएका छन् । नेम्बाङले यसको विकल्पका रूपमा निर्माणाधीन मेची कोरिडोर ९केचना–कञ्चनजङ्घा० सडकको बेलासे खण्डको काम समयमै सक्न सम्बन्धित निकायको ध्यानाकर्षण गरिरहेको पनि जनाएका छन् । ‘यो खण्डमा निर्माण गर्न बाँकी एउटा पुलसमेत पटक–पटक माग गरिसकेका छौँ र निरन्तर फलो अप गरिरहेको बताए । उनले मेची राजमार्गको राजदुवाली र केचना–कञ्चनजङ्घा सडक नेम्बाङले चुनाव जितेको निर्वाचन क्षेत्रमै पर्छ । उनले यी दुवै काममा आफूले निरन्तर माग, पहल, सम्पर्क गरिरहेको जनाएका छन् ।

इलाम जिल्ला समन्वय समितिअन्तर्गतको पूर्वाधार विकास समितिले मेची राजमार्गको राजदुवाली खण्डको वास्तविक अवस्था’दयगत जानकारी लिने निर्णय गरेको छ । इलामसहित पाँचथर र ताप्लेजुङ सम्मको सडकको रूपमा रहेको राजमार्गमा आउँदो बर्खामा गाडी चल्ने सम्भावना नभएपछि जिससले चासो गरेको हो । समिति अध्यक्ष तथा सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईको अध्यक्षतामा भएको बैठकले राजमार्गको अवस्था सुधार्न तथा वैकल्पिक उपाय खोज्न छलफलका लागि सबैलाई आग्रह पनि गरेको छ ।

उद्योगी–व्यवसायीले मेची राजमार्गको इलाम राजदुवाली खण्ड तत्काल मर्मत गर्न वा विकल्प खोज्न माग गरेका छन् । उनीहरूले बर्खाअघि नै यसको विकल्प नखोजे इलाम यातायात सञ्जालबाट टुट्ने भन्दै सिडिओ कल्पना श्रेष्ठमार्फत नेपाल सरकारलाई ध्यानाकर्षण पत्रसमेत बुझाएका हुन् ।

गत असोजमा पहिरो जाँदा राजदुवाली खण्डको करिब दुई सय मिटर मेची राजमार्ग क्षतविक्षत छ । दुई साता जति अवरुद्ध भए पनि दिनरात मर्मत गरेर एकतर्फी गाडी चल्ने त बनाइएको छ तर अब झ्यार्र पानी पर्ने बित्तिकै यो सडक अवरुद्ध हुने निश्चितझैँ छ । यसको विकल्पमा कुनै पनि भरपर्दो सडक नहुँदा आउँदो बर्खामा इलाम बजार यातायात सम्पर्कविहीन हुने जोखिम छ । बर्खा लाग्न आँटिसक्दा मेची राजमार्ग मर्मतका लागि एक रुपैयाँ पनि विनियोजन भएको छैन । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।