इटहरीः धरानमा खुकुरी प्रहार गर्ने युवायुवती पक्राउपछि सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमनकुमार तिम्सिनाकाका अनुसार धरान–१५ सदनरोडमा धरान–१५ बस्ने २१ वर्षीय रिजन राईमाथि धारिलो हतियार खुकरी प्रहार भएको थियो ।
सो घटनामा संलग्न रहेकाहरूमध्ये धरान–१३ बस्ने १८ वर्षीय उत्सव मगर, २१ वर्षीया विश्रान्ति मगर, धरान–८ बस्ने २२ वर्षीय रोमन गुरुङ, १७ वर्षीय प्रस्थान राई, धरान–५ बस्ने २१ वर्षीय सुदीप तामाङलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो । खुकुरी प्रहारबाट बाटोमा लडिरहेको अवस्थामा रहेको सूचना स्थानीयले दिएपछि प्रहरी त्यहाँ पुगेको थियो । अस्थायी प्रहरी चौकी नयाँ बसपार्कबाट प्रहरी सहायक निरीक्षक हरिनारायण राजवंशीको कमाण्डमा प्रहरी टोली खटेको थियो ।
घाइतेलाई तत्काल उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र उपचार भइरहेको प्रहरीले जनाएको छ । राईको टाउको, बायाँ कुम, बायाँ हातको हत्केला र कुहिनामा काटिएको अवस्था तत्काल बोल्न नसक्ने गम्भीर रहेको प्रहरीले जनाएको छ । रिजनलाई धारिलो हतियार प्रहार गरी उनीहरू भागेका थिए ।
धारिलो हतियार प्रहार गर्ने व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय धरान तथा अन्य कार्यालयका समेत प्रहरी परिचालन गरी खोज्ने क्रममा प्र १–०२–०५२ प ८९८५ नम्बरको स्कुटरसहित घटनामा संलग्नलाई पक्राउ गर्न सफल भएको हो। यो खबर आजको राजधानी दैनिकबाट लिइएको हो ।