कोशीटप्पु(सुनसरी)ःकोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतीय पर्यटकहरूलाई नेपाल आउँदा पर्ने सबै खालका असजिलोहरूलाई केही दिनभित्रै हटाउने बताएका छन् । 

सुनसरीको कोशी गाउँपालिका स्थित कोशी टप्पु वन्यजन्तु आरक्षमा बिहिबार बसेको कोशी पर्यटन वर्षको मूल आयोजक समितिको बैठकमा  मुख्यमन्त्री कार्की यस्तो बताएका हुन् । 

नीजि क्षेत्रका तर्फबाट बैंठकमा धारणा राख्ने क्रममा उद्योग वाणिज्य संघ कोशीका अध्यक्ष राजेन्द्र राउत र कोशी गाउँपालिकाका अध्यक्ष अयूब अन्सारीले भारतीय पर्यटकलाई कोशी प्रदेश घुम्न आउ पनि भन्ने अनि अनेकन खालका दुःख दिने कार्य भईरहेकाले कानुन बनाएरै त्यसलाई तत्कालै सम्बोधन गर्नु पर्ने माग राखेका थिए । 

जोगवनी भन्सारबाट नेपाल प्रवेश गर्न साथ भारतीय पर्यटकहरु ठाउँ ठाउँको प्रहरी चेंकिङ , पालिका अनुसारको कर  र सडकमा कुदिरहेको अवस्थामा रोकेर पार्किग शुल्य लिएर हैरान बनाउने काम अझै नरोकिएको राउत र अन्सारीको भनाई थियो । अन्सारीले एक महिनाअघि मात्रै विराटनगरसम्म आउनका लागि भन्सारमा रकम बुझाएर काम बिषेशले धरान पुग्दा भारतीय पर्यटकको सवारी साधन नियन्त्रणमा लिएर कोशी व्यारेज भन्सार बुझाएको घटना सुनाउँदै भारतीय पर्यटकहरु नेपालमा रमाउन र खर्च गर्न आउने हुन ,आफ्नो सम्पती नै सिज गराउन आउने होइन् । कोशी पर्यटन बर्ष २०८२ मनाउनु राम्रो कुरा हो । तर, पर्यटकहरुमाथि भईरहेको ज्यादती हटाउन कानुन नै बनाएर तत्कालय सम्बोधन नगरे लक्ष्य प्राप्त हुनै नसक्ने बताए । उनले भारतीय पर्यटकहरुलाई परिरहेका सबै खालका असजिलाहरु तत्काल हटाउन मुख्यमन्त्रीले नै जिम्मेवारी लिनु पर्नेमा अन्सारीले जोड दिए । 

उनले आफ्नो गाउँपालिका भित्र रहेको रामसार क्षेत्रमा सूचिकृत कोशी टप्पु वन्यजन्त आरक्षमा बैंठक बस्दा आफुलाई जानकारी नै नदिएकोमा मुख्यमन्त्री सामु गुनासो समेत पोखे । उनले अबका दिनमा जनतासँग सबै भन्दा नजिक भएर काम गर्ने स्थानीय सरकारलाई प्रदेश सरकारले आफुलाई गरे जस्तो व्यवहार नगर्न सुझाव समेत दिए । उनले पर्यटन प्रर्बधन र विकासका लागि स्थानीय सरकारसँग पनि बजेट हुन्छ , स्थानीय सरकारले पनि काम गर्न सक्छ । भब्य तयारी र व्यवस्थित रुपमा बैंठक संचालन गर्न सक्छ भन्ने हेक्का मूल समितिलाई हुन पर्ने बताए । 

991bb6ad-b345-418a-9898-08f9e07ffa18

राउतले कोशी पर्यटन बर्ष २०८२ लाई सफल बनाउन नीजि क्षेत्र सहकार्य गर्न तयार रहेको बताए । उनले मुल आयोजक समितिको बैंठक फितलो भएकोमा असन्तुष्टि व्यक्त गरे । 

बैंठकमा सहभागी सबैको धारण सुनेपछि अन्तिममा कोशी पर्यटन बर्ष २०८२ आयोजक समितिका संयोजक समेत रहेका मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका बिभिन्न नाकाबाट प्रदेशका पर्यटकिय स्थल घुम्न आउने पर्यटकहरुमा परिरहेको सबै खालका असजिलोहरु केही दिनभित्रमै तत्काल हटाईहाल्ने बताए । उनले संघीय सरकार , त्यस मातहतका सम्बन्धित कार्यालय र प्रदेश सरकारका बिभिन्न निकायसँग छलफल गरि सबै खालका असजिलाहरु हटाउने बताए । 

उनले कोशी टप्पुमा आयोजना भएको बैंठकमा केही कमिकमजोरी भएको स्वीकार गर्दै आउने दिनहरुमा त्यसलाई दोहोरिन नदिने गरी काम गर्ने बताए । उनले प्रदेश सरकारकाले सुझावका लागि मस्यौदाका रुपमा ८२ गन्तव्यहरुमा धेरै स्थानहरु अझै छुटेको आफुले नै पाईसकेकाले त्यसलाई समेत समेटेर पुनः प्रकाशनमा ल्याउने बचन पनि दिए । बैंठकमा छलफलमा लागि भनेर पर्यटन, वन तथा वातावरण मन्त्रालयको तर्फबाट ८२ गन्तव्यका नाम सहित सुझावका लागि मस्यौदा नाम दिएर ब्रोसर वितरण गरिएको थियो । जसमा १४ जिल्लाका गन्तव्यहरु बुँदागत रुपमा समेटिएका थिए । 

 मूल आयोजक समितिको बैठकले कोशी प्रदेशका लागि आगामी वर्ष गरिने कामको रणनीति पास गरेको थियो । कोशी प्रदेश सरकारले आगामी वैशाख १ गते तेह्रथुमको मिल्के जलजले क्षेत्रमा पर्यटन वर्षको उद्घाटनका लागि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा मूल आयोजक समिति गठन गरेको छ । समितिले बिहिबारबाटै औपचारिक रुपमै आफ्नो कार्य थालेको छ ।