इटहरीः कोशी प्रदेशमा आम सञ्चार विधेयक मन्त्रीपरिसदबाट पारित भई आज शुक्रबार प्रदेश सभाको सचिवालयमा दर्ता हुँदैछ ।
आगामी २३ गते प्रदेश संसदमा टेबल हुँदैछ । छुटफुट भएका कुरालाई थपघट गरी समृद्ध ऐनक रुपमा रुपान्तरण गर्नका निम्ति पत्रकारहरुलाई कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले आग्रह गरे ।
उनले प्रदेशका ठूला र महत्वाकांक्षी योजना सफल पार्न पत्रकारहरूलाई आग्रह गरे ।
बिहीबार प्रेस चौतारी नेपाल सुनसरीको आठौं जिल्ला अधिवेशनका अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै मन्त्री भण्डारीले प्रदेश पर्यटन वर्ष २०८२ को औपचारिक घोषणा आगामी वैशाख १ गते सन्दकपुर मिल्के जलजले क्षेत्रबाट हुने बताए । उनले प्रदेश सरकारले आगामी ०८२ सालभित्र १० लाख विदेशी पर्यटक कोशी प्रदेशमा भित्र्याउने लक्ष्य राखेको बताए ।
यस्तै कोशी प्रदेश सरकारले आगामी वैशाख १८ र १९ गते लगानी सम्मेलन आयोजना गरिने जानकारी दिए । यसैगरी जेठ महिनाको पहिलो साता कोशी प्रदेश सरकारले अन्तर्राष्ट्रिय चिया सम्मेलनको आयोजना गर्ने बताए । उनले यो सम्मेलनले नेपालको चियाले अन्तर्राष्ट्रिय मूल्य प्राप्त गर्ने विश्वास व्यक्त गरे ।