इटहरीः ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणविरुद्ध प्रदर्शन गर्दा पक्राउ परेका सबै जनालाई प्रहरीले  रिहा गरेको छ  । 

माघ १२ मा पाथीभरा क्षेत्रको बलुडाँडा र त्यसपछि झापाको दमक तथा सुनसरीमा भएको प्रदर्शनमा संलग्न १७ जनालाई प्रहरीले पक्राउ गरेर अभद्र व्यवहार सम्बन्धी मुद्दा चलाएको थियो ।

 सो मुद्दामा थुनामा रहेकाहरूलाई जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार रिहा गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) भीमबहादुर दाहालले जानकारी दिए ।   उनले भने, ‘पक्राउ परेका सबैजना रिहा भैसकेका छन् ।’ 

उनका अनुसार ताप्लेजुङबाट ३, झापा दमकबाट ८ जना र धरानबाट ६ जना रिहा भएका हुन् । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले महिचानबादी मोर्चाका जिल्ला संयोजकसमेत रहेका प्रदीप मादेन (नानी) लाई १० हजार धरौटीमा रिहा गरेको छ । सिदिङ्वा गाउँपालिका–५ घर भएका लक्ष्मण लिम्बू र तेह्रथुम म्याङलुङका चन्द्रसागर लिम्बु जनही ५ हजार धरौटी बुझाएर छुटेका हुन् । झापाको दमकबाट पक्राउ परेका ८ जना साधारण तारेखमा छुटेको दाहालले जानकारी दिए ।