धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिलाको डिम्बासयबाट १८.६ किलो वजन तथा ५० सेमी आकारको ट्यूमर शल्यक्रिया गरी सफलतापूर्वक निकालिएको छ ।

मोरङमा बसोबास गर्दै आएकी ३९ वर्षीय महिलाको शल्यक्रिया प्रतिष्ठानको गाइनोकोलोजी एण्ड अब्स्टेट्रिक्स विभागका एसोसिएट प्रोफेसर तथा गाइनो अन्कोलोजी सर्जन डा.रमेश श्रेष्ठको नेतृत्वमा भएको थियो । यस प्रकारको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गर्नमा डा. श्रेष्ठलगायत विभागकी प्राडा प्रिथा बस्नेत, डा. सन्तोषकुमार झा, डा. रिचा भट्टराईको संलग्नता रहेको थियो । त्यसैगरी, एनेस्थेसियोलोजी विभागबाट डा. योगेश ढकाल तथा उनको टिमको संलग्नता रहेको थियो भने नर्सिङ तर्फबाट श्री सुजाता राई लगायत टिमको संलग्नता रहेको थियो ।

जटिल स्वास्थ्य समस्याबाट ग्रसित भई कष्टकर जीवन भोग्दै गर्दा उपचारको खोजीमा भौतारिएकी थिइन् । चार महिना देखि हिड्डुल गर्न, खान र श्वास प्रश्वासमा कठिनाई भोग्दै आएकी तथा आर्थिक स्थित नाजुक भएकी ती महिला आफ्नो उपचारको लागि विराटनगर, भरतपुर लगायत पोखरासम्म पुगेकी थिइन् । तर आर्थिक अभावका साथै शल्यक्रियाको जटिलताका कारणले उनको शल्यक्रिया हुन नसकेकोले अन्त्यमा उपचारको आशा बोकी यस प्रतिष्ठानमा आएका पाइएको प्रतिष्ठानका सहप्रवक्ता डा. अभिजीत कुमारले जानकारी दिए ।

Photo - 1

महिलाको आर्थिक अवस्थालाई मध्यनजर गर्दै विभागीय प्रमुख प्रा।डा। अचला ठाकुरको सिफारिशमा प्रतिष्ठानले सबै परीक्षणहरु, बेड चार्ज तथा शल्यक्रियाको निःशुल्क व्यवस्था गरेको थियो ।

शल्यक्रियापश्चात् महिलालाई बाँकी औषधिउपचारका लागि ९ दिनसम्म वार्डमा राखी सकुशल डिस्चार्ज गरिएको थियो ।

डिस्चार्ज भएको दुई महिना पश्चात् ती महिला तथा उनको श्रीमान् बायोप्सीको रिपोर्ट सहित ओपीडीमा आएका थिए र प्रतिष्ठानको प्याथोलोजी विभागको रिपोर्ट अनुसार सो ट्यूमर क्यान्सर हुनसक्ने अवस्थाको मात्र रहेको थियो । उपचार नै गर्न असम्भव जस्तो लागेको आफ्नी श्रीमतीलाई पुनः पुरानै अवस्था फर्काउन सकेको भन्दै ती महिलाका श्रीमानले चिकित्सकलाई धन्यवाद दिएका छन् ।

Photo - 6

सामान्यतया डिम्बाशयको ट्यूमर भन्नाले महिलाहरुमा प्रजनन् अङ्गको रुपमा रहेको डिम्बाशयको कोषिका अनियन्त्रित रुपमा बढ्दै जानु रहेको चिकित्सकले जनाएका छन् ।

महिलाहरुमा सामान्यतया यो डिम्बाशय पाठेघरको माथिल्लो भागको दायाँ र बायाँ दुवै भागमा टाँसिएर रहेको अवस्थामा हुन्छ । डिम्बाशयको ट्यूमर प्राय क्यान्सररहित अवस्था, क्यान्सर हुनसक्ने अवस्था र क्यान्सर भएको अवस्थाका हुन्छन् ।