बराहक्षेत्रः जङ्गली हात्तीले वराहक्षेत्र २ स्थित किसान अवीरमान भुजेलको घरमा रहेको अन्नपात खाएर र छरेर नष्ट गरेको छ । चारकोशे जंगलमा दिनभरी बसेर बेलुका गाउँ पस्ने जङ्गली हात्तीले चतरा क्षेत्रमा अतंक मच्याउदै आएको छ ।
सात वटाको सङ्ख्यामा रहेका जङ्गली हात्तीमध्ये दुई वटा हात्तीले किसान भुजेलले सञ्चालन गरेको आदित्य कृषि फर्म, फर्ममा निर्माण भएको पक्की घर र घरभित्र रहेको २५ मन धान, २० मन मकै, ३ बोरा नुन र ब्लक मेसिनरी गरेको गोदाममा पूर्ण रुपमा क्षति पुर्याएको वराहक्षेत्र २ का वडा अध्यक्ष होमप्रसाद गौतमले बताए ।
चारकोसे जंगलको उत्तरी गाँउ पुनरबासको आसपास क्षेत्रमा फिरन्ते जंगली हात्तीले दुःख दिँदा स्थानीयहरु रातभर निदाउन पाउँदैनन् । एकदुई दिन बिराएर हात्ती गाउँमा प्रवेश गर्ने गरेको वडाध्यक्ष गौतमले बताए । उनका अनुसार हात्तीसहित निलगाई लगायतका जङ्गली जनावरले क्षति पुर्याइरहेको छ । किसानको तोरी, धान, मकैलगायतका अन्नबालीमा क्षति गुगेको हो ।
चारकासे जंगलमा बसेर साँझपख गाँउ पस्ने हात्तीले स्थानीयको अन्न, बालीनाली मात्रै नास गरेको छैन, घरै भत्काइदिएर दुःख दिने गरेको छ । वडा कार्यालयको सिफारिस अनुसार क्षतिको विवरण हेरेर वराहक्षेत्र नगरपालिकाले सामान्य राहत उपलब्ध गराउँदै आएको वडाध्यक्ष गौतमले जानकारी दिए। ठूलो क्षति भएको अवस्थामा प्रदेश सरकारलाई सिफारिस गर्ने गरिएको वडाध्यक्ष गौतमले बताए।
वराहक्षेत्रमा हात्ती प्रकोप क्षेत्रका रुपमा रहेको छ । हात्तीको बिझाइँ नियन्त्रण गर्न जंगल क्षेत्रमा बाटो, कुलो निर्माणका साथै विद्युतीय तारबार जडानको तयारी गर्नुपर्ने स्थानीयको माग रहेको छ । हात्तीले बर्सेनी लाखौँ मूल्यको धनमालका साथै मानवीय क्षति पु¥याउँदै आएको छ ।गोरखापत्रबाट