उदयपुरः  कच्चापदार्थ खरिद गर्ने पैसा नहुँदा सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग पूर्णरुपले बन्द भएको छ । उद्योगका निमित्त महाप्रबन्धक महेश साहका अनुसार  गत मङ्सिर १९ गते देखी उद्योग पूर्ण बन्द भएको  हो । 

महाप्रबन्धक साहका अनुसार  उद्योगले भुक्तानी गर्नु पर्ने दायित्व झन्डै डेढ अर्ब रुपैयाँ पुगेको र कच्चापदार्थ खरिदमा समस्या हुँदा उद्योग बन्द भएको हो ।

उता उद्योगको सम्पूर्ण बैङ्क खाता समेत रोक्का भएका छन् । रौता सर्भिसेज प्रालिले सामानको भुक्तानी नदिएको भन्दै काठमाडौँ जिल्ला अदालतमा दर्ता गरेको रिटका कारण उद्योगका बैङ्क खाता रोक्का भएका हुन् । जिल्ला अदालतमा परेको रिटमा सुनुवाइ गर्दै ७ माघमा उदयपुर सिमेन्ट उद्योगका नाममा रहेका सबै बैंकका खाताहरू रोक्का गर्न अदालतले आदेश दिएको हो ।

उदयपुर सिमेन्ट उद्योगमा अहिले २ सय २० जना कर्मचारीहरू कार्यरत रहेका छन् । उनीहरूले पाँच महिना देखी तलव समेत पाउन सकेका छैनन् । उद्योगले आपूर्ति तर्फ झन्डै ६५ करोड भुक्तानी गर्न बाकी रहेको छ भने बिधुत महसुलको ३० करोड भुक्तान गर्न बाकि छ । बिगत २८ महिना देखी कर्मचारीको संचयकोष र नागरिक लगानी कोषमा समेत रकम जम्मा हुन सकेको छैन । रिटायर कर्मचारीको ४५ करोड भन्दा माथी भुक्तानी रहेको छ । यी सबै दायित्व जोड्दा करिब डेढ अरब रुपैयाँ उद्योगले भुक्तानी गर्न पर्ने  निमित्त महाप्रबन्धक साहले बताए । उनले अहिले रौता सर्भिसेज प्रालिले सामानको भुक्तानी नपाएको भन्दै रिट दर्ता भएपछि उक्त रिटको सुनुवाई गर्दै अदालतले उद्योगका सबै बैङ्क खाता रोक्का गरेको बताए ।

उदयपुर सिमेन्ट उद्योगकाले रौता सप्लायर्सको मात्र ९५ लाख रुपैयाँ भुक्तानी गर्न बाकी छ। सोही रकम उद्योगले नदिएको भन्दै रौता सप्लायर्सले भुक्तानी माग गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । तर, उद्योगसँग कच्चा पदार्थ खरिद गर्ने सम्म पैसा नभएकाले रौता सप्लायर्सको भुक्तानी नदिएको निमित्त महाप्रबन्धक साहले बताए। काठमाडौँ जिल्ला अदालतको निर्णयविरुद्ध हामी उच्च अदालत पाटन जाने तयारीमा छौँ, खाता फुकुवा भएन भने उद्योग झनै समस्यामा पर्ने साहले बताए । 

चालू आर्थिक वर्ष ०८१र८२ उदयपुर सिमेन्ट उद्योग १८ दिन मात्र चलेको थियो तर अहिले पछिल्लो समय मङ्सिर १९ गते देखि भने उद्योग पूर्णतः बन्द भएको छ । निमित्त महाप्रबन्धक साह भन्छन्, ‘मुख्य समस्या कोइला खरिद गर्ने पैसाकै अभावले गर्दा उद्योग पूर्ण रूपमा बन्द भएको हो ।’ उद्योग बन्द भएपछि घाटा बढिरहेको र उद्योगले तिर्नुपर्ने दायित्व बढेर गएको छ ।