धरानः सुनसरीको धरानमा ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको पक्षमा लागेका पदम चन्जी माबोलाई मोसो दल्ने ८ जना विरुद्ध प्रहरीले मुद्धा दर्ता गरेको छ ।
नो केबलकार पक्षधर मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका कार्यकर्ताहरूले धरान–९ स्थित पुतलीलाइनमा मोसो दलेका थिए ।
सोमबार इलाका प्रहरी कार्यालय धरानमा माबोले कालो मोसो दल्ने ८ जना विरुद्ध किटानी जाहेरी दिए पछि मुद्धा गरिएको हो । माबोलाई मोसो दल्ने ८ जना विरुद्ध आपराधिक उपद्रो व्यवहार ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जानकारी दिएको छ ।
मुद्धा दर्ता पछि प्रहरीले आरोपी ८ जना विरुद्ध जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जीको अनुमति लिएको छ । प्रहरीले ८ जना विरुद्ध पक्राउ पुर्जीको अनुमति लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरिक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए ।
उनीहरूको नाम गोप्य राखिएको प्रहरी प्रमुख तिम्सिनाले बताए । पक्राउ पुर्जी लिएको प्रहरीले मोसो दल्ने व्यक्तिहरुको खोजी तिव्र पारिएको प्रमुख तिम्सिनाले बताए ।
पछिल्लो समय नागरिक उन्मुक्ति पार्टीमा संलग्न भएका माबोले पाथीभरा मन्दिरमा केबलकार निर्माणको पक्षमा सामाजिक सञ्जालबाट कुरा राख्दै आएका थिए । माबोले नो केवलकार पक्षधरलाई समाजिक सञ्जालमा गालीगलौच गर्ने गरेको मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समितिले आरोप लगाएको छ ।
आइतबार भएको घटनाको विषयमा मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समितिले बचाउ गर्दै घटना घट्नु पछिको कारण सहितको प्रेस विज्ञप्ती सार्वजनिक गरेको छ ।
आन्दोलनरत १२ वटा संस्थाहरुले संयुक्त विज्ञप्ती जारी गर्दै राज्यले मध्यरातमा किरात याक्थुम चुम्लुङ सुनसरीको कार्यलयमा घेराउ गरी आतंकित पारेको भन्दै विरोध गरेको छ । उनीहरुले विरोधका कार्यक्रम यथावत रहेको पनि बताएका छन् ।