इटहरीः जनता समाजवादी पार्टीकी एक्ली सांसद निर्मला तावा लिम्बूले पाथीभरा मुकुम्लुङ क्षेत्रमा केबलबार निर्माणका नाममा स्थानीय दाजुभाई, छिमेकी र आदीवासी बीच नै काटाकाट र मारामारको अवस्था कस्ले गरायो ? प्रश्न सहित सरकारसँग जवाफ मागेकी छन् । 

सांसद लिम्बूले कोशी प्रदेश सभामा सुक्रबार आफ्नो धारणा राख्दै सरकारसँग जवाफ मागेकी हुन् । 

उनले भनिन् ‘अस्तित्व रक्षाका लागि शान्तिपूर्ण र्याली मार्फत स्थानीयले आफ्ना माग राख्दा खुकुरी निकालेर आक्रमण गर्ने काम भयो । दाजुभाई, छिमेकी र आदीवासी बीच काटा काट मारा मार गर्ने अवस्थामा कसले पुर्यायो ?’

सरकारले सबै शक्ति प्रयोग गरेर एउटा व्यक्तिको कम्पनीको संरक्षण गर्न सक्छ तर जनताको सुरक्षा गर्न सक्दैन भने त्यस्तो सरकारको के काम ? उनले थप प्रश्न राखिन् । 

उनले मुलवासीको अस्तित्व  समाप्त पार्ने अधिकार कसैलाई नभएको बताइन । उनले ताप्लेजुङको अन्य स्थानमा पनि केबलकार बनाउन सकिने हुँदा त्यसतर्फ निजी कम्पनीलाई लगानी गराउन राज्यको ध्यान जानु पर्नेमा जोड दिइन् । 

उनले भनिन् ‘छातीमा गोली बर्षाउने कामसँगै थप दमनमा राज्य लागेको छ । हातखुट्टा भाँच्ने काम र द्धन्द्ध बढाउने काम राज्यले नै गरिरहेको छ ।  न त केबलकार बनाउने कार्य रोकिएको छ । न त राज्यले नै वार्ता सकरात्मक तरिकाले अगाडि बढाएको छ । राज्यले केबलकार निर्माणको काम र मुलबासीलाई दमन गर्ने काम तत्काल बन्द गर्नुपर्छ ।’ 

उनले भनेकी छन्‘मेरो जिल्लामा पर्ने मुकुम्बलुङ(पाथीभरा) क्षेत्रमा राज्यको सम्पूर्ण शक्ति लगाएर एक व्यक्तिको कम्पनीलाई केबलबार निर्माण गर्न दिएकाले जिल्लाको समग्र शान्ति सुरक्षाका बारे के कति कारणले किन पटक पटक सदनमा बोल्नु परेको हो ? सरकारसँग यसको जवाफ माग्छु ।’ 

a0879354-700a-488d-8b35-942c61886ef0

उनले पछिल्लो समय केबलकार निर्माणको नाममा मुन्धुमको धरोहर ठाउँमा राज्यको अतिक्रमण ज्यादै बढेर गएको दावी गरिन्  । 

व्यक्तिको लगानीमा राज्यको सम्पूर्ण शक्ति लगाएर केबलकार निर्माण गर्नाले त्यो स्थान रणभूमिका परिणत हुँदै छ । केबलकार बनाउने र नो केबलकार पक्षधर बसेर वार्ता गरी अगाडि बढ्नु पर्ने हो । तर राज्य दमन गर्ने नीतिका साथ अगाडि बढ्नु निन्दनीय कार्य भएको उनको भनाई थियो । उनले केबलकार निर्माणको कार्य तत्काल रोकेर दमनबाट नभई वार्ताको माध्यमबाट निकास निकाल्न सरकारसँग माग समेत गरेकी छन् । 

बिहिबार मात्र नो केबल कार पक्ष र केबलकार निर्माणका लागि सुरक्षामा रहेकाहरु बीच दोहोरो झडप भएको थियो । झडपका क्रममा १३ भन्दाबढी घाइते भएका थिए । केबलकार निर्माण स्थलमा अशान्ति बढ्दै गएको भन्दै संघीय सरकारको निर्देशनमा कोशी प्रदेश प्रहरी कार्यालयबाट सुक्रबारबाट एसएसपीको कमाण्डमा बिषेश प्रहरी टोली सो स्थानमा परिचालन गरेको छ । यसकार्यबाट पनि राज्य दमन गरेरै केबलकार निर्माण गरेरै छाड्ने पक्षमा देखिएको छ । यसले पाथीभरा क्षेत्रमा थप द्धन्द्ध बढ्ने देखिएको छ ।