खोटाङः  खोटाङको दिक्तेलबजारमा आयोजना हुन लागेको “प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१” का लागि देशभरबाट विज्ञ तथा सहभागीहरुको आगमन शुरु भएको छ । “जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस” भन्ने नारासहित फागुन १५ गतेदेखि तीन दिनसम्म संचालन हुने यस ऐतिहासिक समारोहको उद्घघाटन संघीय वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले गर्ने कार्यक्रम तय गरिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मुख्य आयोजना तथा वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहल काठमाण्डौं, पर्यटन–वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश र ग्रीन बेम्बो क्रियसन ललितपुरको सह–आयोजनामा उक्त सम्मेलन हुन लागेको हो । मंगलबार आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाले सम्मेलनको सम्पूर्ण तयारी पूरा हुँदै गरेको र सहभागीहरु दिक्तेलबजार आइपुग्न थालेको जानकारी दिएको छ ।

सम्मेलनमा संघीय मन्त्रीहरु, सातै प्रदेशका मन्त्रीहरु, सांसदहरु, कोशी प्रदेशका गभर्नर डा. महाप्रसाद अधिकारी, विभिन्न विश्वविद्यालयका प्राध्यापक तथा विशेषज्ञहरु, वन मन्त्रालयका विशिष्ट कर्मचारीहरु लगायतको विशेष उपस्थिति रहने आयोजकले जनाएको छ । साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघसंस्थाका प्रमुख वा प्रतिनिधिहरु र बाँस व्यवसायीहरुको पनि उपस्थिति रहने मेयर तीर्थराज भट्टराईले बताए । केही विशिष्ट व्यक्ति तथा सञ्चारकर्मीहरु मंगलबार बेलुकी नै जिल्लामा प्रवेश गरिसकेको जानकारी आइरहेको मेयर तीर्थराज भट्टराईले सुनाए ।

नगरपालिकाले जिल्ला बाहिरबाट आउने करिब साढे तीन सयजना सहभागीहरुका लागि होटल व्यवसायी संघ खोटाङसँगको समन्वयमा आवासको प्रबन्ध मिलाइएको जनाएको छ । सम्मेलनमा जिल्ला बाहिरबाट २८ र जिल्लाभित्रबाट ५२ बढी स्टल राखिने योजना रहेको छ । सम्मेलनको मुख्य उद्देश्य बाँसको संरक्षण, व्यवस्थापन, दिगो उपयोग र उद्यमशीलता प्रवद्र्धन गर्दै प्रकृतिको संरक्षण, स्थानीय रोजगारी तथा राष्ट्रिय अर्थतन्त्रमा वृद्धि गरी समृद्ध स्थानीय तह, प्रदेश र राष्ट्र बनाउने रहेको छ ।

तीन दिने सम्मेलन अवधिमा बाँसजन्य सामग्रीहरुको प्रदर्शनी तथा बिक्री वितरणका साथै विज्ञहरुबाट विभिन्न कार्यपत्रहरु प्रस्तुत गरिने छन् । सम्मेलनमा बाँससँग सम्बन्धित ४४ जना विशिष्ट व्यक्तिबाट २३ वटा कार्यपत्र प्रस्तुत हुने कार्यक्रम तय भएको छ । मेयर भट्टराईका अनुसार यो सम्मेलनले केवल तीन दिने आयोजनाको मात्र अर्थ नराखी बाँससम्बन्धी राष्ट्रकै नीति निर्माण गर्ने विशिष्ट महत्व राख्ने बताए ।

सम्मेलनबाट दिक्तेल घोषणापत्र सार्वजनिक गरिने र सोही घोषणापत्रकै आधारमा नेपालभर लागु हुने बाँस सम्बन्धी नीति तय हुने बताए । सम्मेलनको दौरान यलम्बर बाजा, बाँसुरी, बिनायो लगायत बाँसजन्य बाजाहरु बजाउने कार्यक्रम पनि राखिएको छ । साथै बाँसको महत्व र उपयोगिता प्रवद्र्धन गर्न लिङ्गे पिङ खेल्ने, बाँसमाथि चढेर भाले झिक्ने प्रतियोगिता लगायत विविध कार्यक्रमहरुको पनि आयोजना गरिएको छ ।

करिब ४७ लाख रुपैयाँ बराबरको खर्च हुने अनुमान गरिएको यस सम्मेलनका लागि नगरपालिकाको तर्फबाट पाँच लाख रुपैयाँ मात्र बजेट विनियोजन गरिएको छ । बाँकी रकम वाँस सम्बन्धी काम गर्ने निकायहरु, विभिन्न मन्त्रालय, संघसंस्थालगायतबाट नगरपालिकाको खातामा आर्थिक सहयोग जुटिरहेको बताइएको छ ।यो खबर आजको राजधानी दैनिकबाट लिइएको हो ।