मनोज भुजेल

इटहरीः इटहरीमा शङ्कास्पद रूपमा एक महिलाको शव दाहसंस्कार गरिएको घटना सार्वजनिक भएको छ । घरेलु मजदुरी गर्ने २१ वर्षीय चन्दा चौधरीको गत फागुन ९ गते मृत्यु भएको थियो । तर उनको मृत्युलाई आफन्तहरूले “अस्वाभाविक” भएको दाबी गरेका छन् । 

चन्दाका आफन्तका अनुसार इटहरी ६ जुटबिकास चौकमा बस्ने ६४ वर्षीय समयलाल गुप्ताले चन्दाको हत्या गरी शवलाई परिवारको जानकारी बिना आफै दाहसंस्कार गरेको दाबी छ । 

घटनाक्रम अनुसार चन्दालाई गत फागुन ९ गते इटहरी ६ जुटबिकास चौकस्थित समयलाल गुप्ताको डेरामा अत्यधिक रगत वान्ता गरेपछि उपचारको लागि इटहरीस्थित पन्चकोशी हेल्थ सर्भिसमा लगिएको थियो । चन्दालाई उनै गुप्ताले उपचारको लागि त्यहाँ पुराएका थिए । चिकित्सकको जाँचमा लिभर र पिसाबमा इन्फेक्सन देखेपछि औषधी लिएर चन्दा र गुप्ता फर्किएका थिए । साँझ होस नभएको अवस्थामा पुंन चन्दालाई उपचारको लागि गुप्ताले पन्चकोशी पुराएका थिए । तर चन्दाको अवस्था जटिल देखिएपछि पन्चकोशी हेल्थ सर्भिसले तत्कालै कोशी अस्पताल विराटनगर रेफर गरेको थियो ।

उता कोशी अस्पतालमा पुराउन साथ चन्दाको मृत्यु भएको थियो । चन्दाको मृत्युपछि उनको शव आफै बुझेर गुप्ताले केही छिमेकीको सहयोगमा ९ गते राती ११ बजे नै इटहरीस्थित बुढी गङ्गा घाटमा शवको दाहसंस्कार गरेका थिए । 

गुप्ताले आफन्तहरू सोधी खोजी नगरी चन्दाको शव दाहसंस्कार गरेको कुरा उनका आफन्तहरूले चाल पाएका थिए । भोली पल्ट अर्थात् फागुन १० गते चन्दाकी दिदी रिता परियारले गुप्ता विरुद्ध कर्तव्य ज्यानमा जाहेरी दिइन । र गुप्तालाई १० गते नै इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

मृतक चन्दाकी दिदी रिताका अनुसार श्रीमानले छाडेयता बहिनी गुप्तासँग बस्दै आएकी थिइन । गुप्ताले चन्दालाई घरको सरसफाइ गर्ने सर्तमा “संरक्षण” दिएका थिए । तर गुप्ताले बहिनी चन्दालाई कुटपिटका साथै शारीरिक यातना दिने गरेको रिताको आरोप छ । 

बहिनीको मृत्युको केही दिन अघि गुप्ताले जुटबिकास चौकमा चन्दालाई लडाएर जुतै जुतैले हानेर घाइते बनाएको दाबी रिताको छ । यस्तै गुप्ताले काम गरेको पारिश्रमिक समेत नदिने गरेको दिदी रिताको भनाई छ । 

“घटना अत्यन्त शङ्कास्पद छ, हामीलाई थाहै नदिई शवको दाहसंस्कार कसरी भयो ?” बहिनीको जुठो बारिरहेकी रिताले भनिन् ः “कोशी अस्पतालको भूमिका प्रति पनि हामीलाई शङ्का लागेको छ । यो घटनामा इटहरी प्रहरीले गम्भीर अनुसन्धान गर्नुपर्छ । साथै शवको दाहसंस्कारमा जानेलाई पनि अनुसन्धानको दायरामा ल्याउनु पर्छ ।” उनले भनिन् ।

चन्दाको शरीरमा चोटहरू प्रस्ट देखिन्थ्यो, यो “स्वाभाविक” मृत्यु नभएको आफन्तहरूको दाबी छ । 

पक्राउ परेका ६४ वर्षीय समयलाल गुप्ताको घर विराटनगर ४ हो । उनको गौरव ट्रान्सपोर्ट इटहरीमा छ । र उनि ट्रान्सपोर्टको कारोबारको लागि इटहरी जुटबिकासमा भाडामा बस्दै आएका छन् ।

यता इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी लक्ष्मी भण्डारीका अनुसार इटहरीमा उपचार नभएपछि कोशीमा चन्दाको मृत्यु भएको जानकारी बताए । घटना शङ्कास्पद भएको भनेर मृतकको दिदीले जाहेरी दिएपछि गुप्तालाई पक्राउ पश्चात् म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।

शव जलाएको भिडियो समेत प्राप्त भएको छ मृत्युको कारण र अन्य विषयमा अनुसन्धान भइरहेको भण्डारीको भनाई छ ।