मनोज भुजेल

इटहरीः  प्रतिबन्धित गाँजा ओसारपसारमा प्रहरीले कडाइ गर्न थालेपछि गाँजा तस्करहरूले नयाँ तरिका अपनाउन थालेका छन् । सडक मार्गमा प्रहरीले चेकजाँच तथा निगरानी बढाउँदा तस्करहरूले ‘मानव भरिया’ मार्फत जङ्गलको बाटो हुँदै पैदल गाँजा तस्करी गर्ने गरेका छन् । धरानमा प्रहरीले गाँजा ओसारपसारमा भरिया प्रयोग गरेको दुई वटा घटनाबाट यो तरिका अपनाएको देखिन्छ । 

एक महिना अघि धरान प्रहरीले भरिया मार्फत गाँजा ओसारपसार गरेको अवस्थामा केही व्यक्ति र सय केजी गाँजा बरामद ग¥यो । धरानमा प्रहरीको लागि यो गाँजा ओसार्न तस्करहरूको तरिका पहिलो थियो ।

अहिले सुनसरीको धरानमा प्रहरीले गाँजा तस्करी रोक्न छुटै टिम परिचालन गरेको छ । जस कारण अहिले धरानका सबै नाकाहरूमा सवारी चेकजाँच तथा निगरानीलाई अत्यन्त कडा बनाइएको छ । त्यसैको असर तस्करहरू भरिया प्रयोग गरिरहेका छन् । 

प्रहरीले बुधवार मध्यरातमा धरान उपमहानगरपालिका–२० चिमफुले खोलामा गोली चलाएर फेरी भरिया र गाँजा बरामद गरेको छ । लागु औषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय धरान तथा अस्थायी प्रहरी पोस्ट जोरसखुवाबाट संयुक्त टोली खटिएको थियो । त्यस क्रममा गाँजा बोकेर पैदल नै आउँदै गरेका व्यक्तिहरू भेटिए । प्रहरीले रोकेर चेकजाँच गर्न खोज्दा उनीहरूले बोकेको गाँजा छाडेर फरार भए ।

प्रहरीलाई देख्नसाथ विष्णु पादुकाबाट रेलवेतर्फ आउने जङ्गलको भित्री बाटोमा गाँजा फालेर उनीहरू फरार भएको सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । जङ्गलतर्फ फरार भएको समूहलाई नियन्त्रणमा लिनका लागि गोली चलाउनु परेको उनको भनाइ छ ।

यस क्रममा हवाई फायर गरेर धनकुटाको साँगुरीगढी गाउँपालिका–९ का ४३ वर्षीय हरिकुमार राईलाई पक्राउ गरिएको छ । ९ वटा प्लास्टिकका बोरामा ‘प्याक’ गरिएको २ सय २५ किलो गाँजासहित राईलाई पक्राउ गरिएको हो । अरू फरार रहेकाले खोजी जारी रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुले बताए । पक्राउ परेका राई लागु औषध गाँजा ओसारपसार गर्ने भरिया रहेको प्रहरीले जनाएको छ ।

प्रहरीसँग जम्काभेट भएको स्थलबाट प्रहरीले ९ बोरा गाँजा बरामद गरेको छ ।

प्रहरी अनुसन्धानको क्रममा बुधवार मध्यरातमा गाँजा भरिया गर्ने ९ जनाको समूह रहेको बताइएको छ । जसमा २५ केजीको दरले ९ जनाले ‘नाम्लो’ लगाएर गाँजा बोकेर जङ्गल तर्फ आउँदै गरेका थिए । त्यस क्रममा प्रहरीसँग जम्काभेट भयो र अरू फरार हुँन सफल भए भने ४३ वर्षीय हरिकुमार राईलाई पक्राउ परे । 

धरानका डिएसपी जवेगु भन्छन् ‘प्रत्येक गाँजा भरिएको बोरा ‘भरिया’ गरे बापत बोक्नेले एक रातको ८ देखि १० हजार रुपैयाँसम्म पैसा पाउने रहेछन् । यो घटनामा ९ जनाको समूहले ल्याएको गाँजा जङ्गलको एउटा निश्चित ठाउँमा जम्मा (स्टक) गरिँदो रहेछ । भरियाको काम त्यहाँसम्मको लागि मात्र हो । त्यसपछि सवारी साधन प्रयोग गरेर धरान नाका कटाउने अर्को समूह तयारी थियो । तर हाम्रो ‘अप्रेसन’ले उनीहरूको योजना विफल भयो ।’