फुङलिङः ढाका कपडा बुनाइबाट वार्षिक पाँच लाख आम्दानी हुने गरेको छ । बचन कुमारी नाल्बो लिम्बूले ढाका कपडा बुनेर नै वार्षिक पाँच लाखको हाराहारीमा आम्दानी गरिरहेकी छन।
ताप्लेजुङ जिल्ला मेरिङदेन गाउँपालिका ४ लिङतेप घर भई हाल फुङलिङ नगरपालिका वडा नं ७ मा सोनी ढाका कपडा उद्योग सञ्चालन गर्दै आउनुभएकी बचन कुमारी नाल्बोले ढाकाबाट नै जीविकोपार्जन गरेकी छन ।
५२ वर्षीया लिम्बू विगत २२ वर्ष अघिदेखि नै ढाका बुन्दै आएको बताउछिन । करिब आठ वर्ष अघिदेखि भने उनी आफैले उद्योग सञ्चालनमा ल्याएर मनग्य आम्दानी गरिरहेकी छन । यो सँगै उनले पाँच जना महिलाहरूलाई रोजगारी समेत प्रदान गरे ।
उनको ढाका कपडा उद्योगमा साडी, चौबन्दी चोली, कोट, सर्ट, मेख्ली, बर्की, टोपी लगायतका कपडा तयार हुन्छ । एउटा साडीको मूल्य न्यूनतम पाँच हजारदेखि १० हजार सम्म पर्ने उनको भनाई छ । अहिले सबैभन्दा धेरै साडीको नै माग रहेको पनि लिम्बूले बताए।
ढाका कपडा मिटरको भने एक हजार दुई सय देखि एक हजार पाँच सय पर्ने गर्दछ । ढाका कपडाको अडर धेरै काठमाडौँबाट आउने गरे पनि उद्योगबाट नै बिक्री भई सक्ने लिम्बू बताउछिन । बालबालिकादेखि युवा पुस्ताका लागि विभिन्न पहिरन तयार हुने भएका कारण पनि अहिले ढाका कपडा सबैको रोजाइ बनेको छ । यही कारण पनि ढाका कपडाले राम्रो बजार पाएको छ ।
हेर्दा सामान्य देखिने तान, अनि थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने एउटा माध्यम भएकोले आफूले ढाका उद्योग नै रोजेको लिम्बूको भनाई छ । यस्तै ढाका कपडा उद्योगले घरेलु तथा साना उद्योग कार्यालयबाट पनि राम्रो अवसर पाएको लिम्बू सुनाउछिन । जहाँ जहाँ औद्योगिक मेला हुन्छ त्यहाँ घरेलु तथा साना उद्योग कार्यालयको समन्वयमा ढाका कपडा प्रदर्शनीमा गएर ढाका कपडा बिक्री सँगै आफ्नो सीप क्षमतालाई प्रदर्शन गर्न सकिने उनको भनाई छ ।
लिम्बूले ढाका कपडा उद्योगबाट पैसा सँगै सम्मान पनि उत्तिकै पाएकी छन । विगत लामो समयदेखि उद्यमी भई अरूलाई पनि उद्यमी व्यवसायी बन्न प्रेरित गरेको भन्दै उनलाई गत साल सामाजिक विकास मन्त्रालय कोशी प्रदेशले सम्मान गरेको थियो ।