इटहरी : इटहरीमा विवाह गर्न योग्य नभएकी नाबालिका बेहुलीसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीले सोमबार दिउसो इटहरी ९ स्थित राधाकृष्ण मन्दिरबाट विवाहको जगेबाटै बेहुला र नाबालिका बेहुलीसहित ५ जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मन्दिरमा जन्तीसहित आएको बेहुला पक्षले हिन्दु परम्परा अनुसार मागी विवाह गर्न खोजेका थिए । जसमा दुवै पक्षको पाहुनाहरू भेला भए । तर बेहुलीको कलिलो उमेर देखेर सबै छक्क परे । बेहुला पक्षलाई आफन्तहरूले यो समयमा यसरी विवाह गर्नु भनेको बाल विवाह मानिन्छ यो गलत हो, यसलाई रोकौँ भनेर आग्रह गरे । तर अटेरी गरी विवाह अघि बढ्ने भएपछि नगर बाल सञ्जाल इटहरी मार्फत प्रहरीलाई जानकारी गराइ विवाह रोक्नुको साथै बेहुला, बेहुली, पण्डित अनि दुवैका बुबाहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूमा बेहुला इटहरी ११ बस्ने २८ वर्षीय उपेश नेपाल, बेहुली रामधुनी ६ बस्ने १८ वर्षीय (परिवर्तित नाम) हिरा, पण्डित इटहरी ११ बस्ने ४५ वर्षीय दिनेश कुमार भटराई, बेहुलाका बुवा ढुण्डिराज नेपाल र बेहुलीका बुवा दिनेश कुमार दाहाल छन् ।
बाल विवाह गर्ने र गराउने बुवाहरू र पण्डित सबैलाई अदालतबाट एक दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । बाल विवाह हुदैछ भन्ने सूचना आएपछि सम्बन्धित परिवारका सदस्य र पण्डितलाई पक्राउ गरी बाल विवाह कसुरमा आवश्यक अनुसन्धानको लागि एक दिनको म्याद थप गरिएको डिएसपीको बताए ।
प्रहरीका अनुसार दुवै परिवारबिच मागी विवाह भएको जनाइएको छ । तर आफन्तहरूका अनुसार प्रेम सम्बन्धले भाग्ने स्थिति बनेपछि विवाह गराइएको दाबी गरिएको छ ।