विराटनगरः  महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगरमा नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले तोडफोड गरी निर्वाचन कार्यालयमा आगो लगाएका छन् । उनीहरुले निर्वाचन अधिकृत सुशील अधिकारीलाई कोठामै थुनेर आगजनी गरेका थिए ।

निर्वाचन अधिकृतलाई कोठामा थुनेर आगो झोसेर बाहिरिएको विद्यार्थी समूहले उक्त कार्यालय कक्षमा तालाबन्दी गरिदिएका थिए । पछि प्रहरीले ताला फोडेर निर्वाचन अधिकृत अधिकारीलाई बाहिर निकालेको थियो ।

नेपाल विद्यार्थी संघको तर्फबाट दुई फरक प्यानलले उम्मेदवारी दर्ता गराएको र निर्वाचन समितिले गलत पक्षलाई आधिकारिकता प्रदान गरेको भन्दै डा. शेखर कोइराला पक्षधर कार्यकर्ताहरुले स्ववियु निर्वाचन प्रयोजनका लागि स्थापना गरिएको कार्यालयमा तोडफोड र आगजनी गरेका हुन् ।

स्वतन्त्र विधार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघका दुई खेमाले अलग अलग मनोनयन दर्ता गरेपछि आधिकारिकताको विवाद भएको हो ।

महेन्द्र मोरङ क्याम्पसमा नेता डा. शेखर कोइराला पक्षबाट योगराज दाहाल र संस्थापन पक्षबाट प्रज्वलजंग बिष्टको प्यानल दर्ता भएको थियो । तर कोइराला पक्षको खेमालाई निर्वाचन समितिले स्वतन्त्र नामबाट नामावली प्रकाशन गरिदिएपछि आक्रोशित विधार्थीले बुधबार निर्वाचन समितिको कार्यालयमा तालावन्दी गरेका हुन् ।

नेविसंघ मोरङमा दुई सभापति छन् । केन्द्रले परिपत्र गरी छुट्टै जिल्ला सभापति तोकिदिएको र मनोनयनका क्रममा पनि दुई फरक पत्र दिइएकोले निर्वाचन समितिले प्रज्जवल विष्ट समूहलाई नेविसंघको आधिकारिकता दिएको थियो । विष्ट संस्थापन (देउवा) पक्षका उम्मेदवार हुन् ।

स्ववियु निर्वाचनका लागि दल दर्ता गर्नु केही दिनअघि नेविसंघका दुई समूहबिच विवाद भई आपसमै कुटाकुट गरेका थिए । उक्त घटनापछि जिल्लामा नेविसंघ विभाजित छ ।

असन्तुष्ट विद्यार्थीहरुले मध्यरातमा निर्वाचन समितिले स्वतन्त्र उल्लेख गरी डा। शेखर कोइराला पक्षका उम्मेदवारहरुलाई स्वतन्त्र उम्मेदवारको हैसियत कायम गरिदिएपछि विवाद बढेको हो ।

मोरङ क्याम्पस विवादमने विष्नयान नेविसंघ केन्द्रीय सदस्य एरिका ढकालले केन्द्रले तोकिदिएको प्रतिनिधिको रोहवरमा मनोनयन दर्ता नगर्ने समूहलाई स्वतन्त्र करार गरिएको बताए ।