इटहरीः सुनसरीको इटहरीमा फागुन २६ गते बाल विवाह गरेको अभियोगमा पक्राउ परेकाहरू रिहा भएका छन् ।
पक्राउ परेकाहरू मध्ये बेहुलाका बुवा र पण्डितलाई साधारण तारेकमा र बेहुला, बेहुली, र बेहुलीका बुवालाई भने पाँच/पाँच हजार रुपैयाँ धरौटी रकम अदालतलाई बुझाएर रिहा भएका हुन । सुनसरी जिल्ला अदालतले उनीहरूलाई बिहीबार रिहा गर्ने आदेश दिएको हो ।
अदालतले बेहुलाका बुवा इटहरी ११ बस्ने ढुण्डिराज नेपाल र पण्डित इटहरी ११ बस्ने दिनेश कुमार भटराईलाई विवाह गर्ने नाबालिगकाको उमेर जानकारी नदिएको र थाहा नभएको आधारमा साधारण तारेकमा रिहा भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
यस्तै बेहुला इटहरी ११ बस्ने २८ वर्षीय उपेश नेपाल, रामधुनी ६ बस्ने १८ वर्षीय बेहुली र बेहुलीका बुवा रामधुनी ६ का दिनेश कुमार दाहाललाई नाबालिगकाको उमेर थाहा हुँदा हुँदै विवाह गर्ने गराउने गरेको आधारमा जनही पाँच/पाँच हजार रुपैयाँ धरौटी रकम लिइएको जनाइएको छ ।
दुवै परिवारलाई नाबालिकाको उमेर २० वर्ष पुगेपछि मात्र विवाह गर्न अदालतले आदेश समेत दिएको छ । गत फागुन २६ गते इटहरी ९ स्थित राधाकृष्ण मन्दिरमा बाल विवाह गरेको अभियोगमा ५ जनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी बाल विवाह कसुरमा मुद्दा चलाएको थियो ।