इटहरीः सुनसरीको कालाबन्जार र धरान जोड्ने जङ्गलमा लुटपाट गर्ने अटो चालकको समूह अझै पक्राउ पर्न सकेका छैनन् । गत फागुन २३ गते रामधुनी नगरपालिका ७ भुल्केबाट धरान जाने क्रममा भोजपुर साल्पा सिलिचौन गाउँपालिका ३ का ३४ वर्षीय दिलीप राई लुटिएका थिए । उनको साथबाट एक थान मोबाइल सेट र नगद ६० हजार रुपैयाँ लुटिएको थियो ।
लुटपाट भएको हप्ता दिन बितिसक्दा समेत प्रहरीले लुटपाटमा संलग्न अटो चालक र अटोमा सबार अर्का एक व्यक्ति अझै पक्राउ गर्न सकेको छैन । लुटपाटमा संलग्न रातो रगंको अटोको अल्फाबेट नखुलेको कारण सवारी धनीको पहिचान गर्न मुस्किल भएको इलाका प्रहरी कार्यालय पकलीको दाबी छ ।
पकलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले लुटपाटमा संलग्न अटोको हुलियाको आधारबाट ४०२२ नम्बरको अटोको एक धनी पहिचान भए पनि उक्त अटो अरू कसैलाई भाडामा दिएको र भाडामा चलाउनेको खोजी भइरहेको दाबी गरे ।
’हामीले यातायात मार्फत नम्बरबाट मात्र एक अटोको पहिचान गरेका छौ, धनीले चालकको विवरण उपलब्ध गराएका छन्“ दाहालले भने ’तर चालकले मोबाइल अफ गरेको अवस्था छ । हामी ती चालकको खोजी गरिरहेका छौ ।“
तर प्रहरी स्रोतका अनुसार यो लुटपाटको घटनामा पकली प्रहरीले खासै चासो देखाएको छैन । लुटिएका व्यक्ति पहाड गएकाले उनले घटना प्रति चासो नदेखाएपछि प्रहरीले पनि यसलाई गम्भीरता पूर्वक नलिएको प्रहरी स्रोतको भनाई छ ।
तर दैनिक जसो कालाबन्जार र गडाहा हुँदै धरान यात्रा गर्नेहरू यो घटनापछि त्रसित छन् । जङ्गल हुँदै धरान जाने क्रममा यस अघि पनि लुटपाटका घटना भएका कारण यात्रुहरू असुरक्षित महसुस गर्ने गरेका छन् ।
कलाबन्जारका स्थानीय रोहित पुलामी मगर फागुन २३ गतेको लुटपाटको घटनाले त्यस बाटो हुँदै यात्रा गर्नेहरू असुरक्षित महसुस गर्ने गरेको बताउँछन् । अटो चालकले नै यात्रु लुटिएपछि त्रसित माहौल बनेको उनी बताउँछन् ।
यस्तै रामधुनी नगरपालिका ७ का वडाध्यक्ष केशव गौतमले अटो चालकबाटै यात्रु लुटिनु गम्भीर विषय भएको बताए । लुटपाटमा संलग्नलाई चाँडो पक्राउ गरी कडा कारबाही गर्नुको साथै अगामी दिनहरूमा यस्ता घटना नदोहरिनको लागि प्रहरीसँग समन्वय गर्ने गौतमले जानकारी दिए ।