इटहरीः प्रधानमन्त्री केपी शर्मा ओलीलाई ’आत्मघाती बम पड्काउँछु’भनेर स्ट्याटस लेख्ने इटहरीका एक युवकलाई प्रहरीले एक रात थुनेर छाडेको छ । सोमबार राती इटहरी ११ का २६ वर्षीय उज्ज्वल भटराईलाई प्रधानमन्त्री ओली लक्षित स्ट्याटस लेखेको आधारमा इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो ।

उनलाई जिल्ला प्रशासन कार्यालय सुनसरीमा मङ्गलवार उपस्थिति गराई आइन्दा यस्ता खाले स्ट्याटस नलेख्ने सर्तमा छाडिएको इटहरीका डिएसपी लक्ष्मी भण्डारीले प्रदेश पोर्टललाई जानकारी दिए ।
माथिल्लो तहबाट पक्राउ गर्न निर्देशन आएपछि भटराईलाई पक्राउ गरिएको उनको भनाई छ । पक्राउ परेका भटराईले मदन भण्डारीको हत्यारो, रअ र सिआईएसँग मिलेर दरबार हत्याकाण्ड गराउने हत्यारो किर्ते ओली । इटहरी आउँदा सेक्युरिटी कडा राख्नु । अब तेरो अगाडी म आत्मघाती पड्काउँछु । सक्छस् भने मलाई गिरफ्तार गर । देशद्रोही । भनेर कान्तिपुरको समाचार सेयर गदै स्ट्याटस लेखेका थिए ।

उनले प्रधानमन्त्री ओली लक्षित अन्य स्ट्याटस समेत लेखेका थिए । प्रहरीका अनुसार भटराईलाई उनको निवासबाट राती ११ बजे पक्राउ गरिएको हो । पक्राउ पश्चात् प्रहरीले उनलाई स्ट्याटस डिलिट गर्न लगाएको थियो । भटराईका अनुसार सिडिओ कार्यालयमा लिखित पत्रमा हस्ताक्षर गदै प्रधानमन्त्री विरुद्ध यस्ता खाले स्ट्याटस नलेख्ने सर्तमा आफूलाई छाडिएको बताए ।

देशको वर्तमान अवस्था अनि सरकारको रवैया देखेर आफूले आक्रोश पूर्वक स्ट्याटस लेखेको उनको भनाई छ ।  ’यो मेरो अनि युवाहरूको समग्र आक्रोश हो, लेख्ने शैली केही गलत भयो होला’ उनले भने ’तर सरकार प्रति नागरिकको भरोसा टुटिसकेको छ ।’ अब राजसंस्था फर्किनुको विकल्प नभएको भटराई बताउँछन् । भटराई राष्ट्रिय प्रजातन्त्र पार्टी इटहरीका सहसचिव र राष्ट्रिय युवा मोर्चा सुनसरीका सचिव हुन् ।