इटहरी : ४ महिना अघि इटहरीस्थित खनारमा दुर्घटनापछि बस आगजनी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । २०८१ मसिंर २ गते इटहरी १२ स्थित खनार चौकमा मे १ ख ४५७४ नं. बसको ठक्करबाट विद्यार्थी सम्झना यादवको मृत्यु भएको थियो । यादवको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित समूहले बममा आगजनी गरेका थिए । आगजनीबाट बस पूर्ण रुपमा जलेको थियो । घटना पश्चात् बममा आगजनी गर्ने १२ जना विरुद्ध प्रहरीले आपराधिक उपद्रव मुद्दा दर्ता गरेको थियो ।
आगजनी पछि फरार १२ जना मध्ये रिट्ठे भनिने शिवकुमार भुजेल, प्रदीप शर्मा लोहार र रामबाबु शर्मालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो । उनीहरू सबैको ठेगाना इटहरी १२ खनार रहेको छ । आगजनीमा संलग्न थप ९ जनाको खोजी भइरहेको इटहरी प्रहरीले जनाएको छ । यो घटनामा बस आगजनीपछि प्रहरी र प्रदर्शनकारी समूहबिच झडप समेत भएको थियो । झडपमा प्रहरी र प्रदर्शनकारी घाइते समेत भएका थिए ।