इटहरी : सुनसरीको इटहरीबाट ‘वान–एक्स बेट’ खेलाउने अभियोगमा पक्राउ परेका तीन जनालाई छाडिएको छ । इलाका प्रहरी कार्यालय इटहरीले ‘अनुसन्धान नटुङ्गिएको’ भन्दै बुधवार सरकारी वकिलको कार्यालयबाट उनीहरूलाई हाजिर जमानीबाट छाडिएको हो । 

गत फागुन १२ गते इटहरीस्थित इडिङ्गो होटेलबाट अवैध सट्टेबाजी एप ‘वान–एक्स बेट’ खेल खेलाउने गरेको अभियोगमा इटहरी २० का ३० वषीैय रञ्जित भनिने राजेन्द्र थापा मगर, इटहरी ४ का ३२ वर्षीय सरोज कार्की र इटहरी ९ का ४१ वर्षीय अमित भनिने किरण श्रेष्ठ पक्राउ परेका थिए । 

इटहरी प्रहरीले उनीहरूलाई पक्राउ गरेको २४ दिनपछि ‘अनुसन्धान नटुङ्गिएको’ अर्थात् आवश्यक प्रमाण जुटाउन समय लाग्ने भएपछि तत्कालको लागि हाजिर जमानीमा छाडिएको जनाएको छ । 
यो प्रकरणमा प्रहरीले पक्राउ परेकाहरू विरुद्ध २५ दिन भित्र अदालतमा अभियोजन दर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ । तर अभियोजन दर्ता गर्नको लागि ‘स्ट्रोङ’ प्रमाण नभएपछि जमानीमा छाडेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । 

‘पक्राउ परेकाहरूको मोबाइल परीक्षणको रिर्पाेट र बैङ्क कारोबारको विवरण आउन समय लाग्ने भयो’ भण्डारीले भने ‘सट्टेबाजको मुद्दामा ६ महिने हदम्याद हुन्छ, हदम्याद हुँदाहुँदै मुद्दा टुङ्ग्याएर नजाऊ भनेर छाडिएको हो ।’

भण्डारीका अनुसार पक्राउ परेकाहरूको मोबाइल परीक्षणको लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाइएको छ । मोबाइल परीक्षणबाट ‘वान–एक्स बेट’ एपबाट उनीहरूको कति कारोबार भयो र अन्य सूचनाहरू उपलब्ध हुन्छ । साथै उनीहरूले विभिन्न बैङ्क र ई सेवाबाट कतिको कारोबारको गरे भन्ने विवरण समेत उपलब्ध गराउन राष्ट्रिय बैङ्कले ढिलाइ गरेको जनाइएको छ । यस्तै उनीहरूको घरजग्गादेखि धितो पत्र सम्बन्धित सेयर कारोबारको विवरण समेत उपलब्ध भई नसकेको डिएसपी भण्डारी बताउँछन् ।  अभियोजन दर्ताको लागि यी सबै विवरण र डकुमेन्ट आई नसकेपछि तिनै जनालाई हाजिर जमानीमा राखेको उनको भनाई छ । 

सबै विवरण र रिर्पाेट आएपछि कारोबारको आधारमा उचित बिगो कायम गरी सजाय माग दाबीको लागि अदालतमा उपस्थित गराउने कुरामा आफूहरू प्रतिबद्ध रहेको समेत भण्डारीले जानकारी दिए । 
२५ दिन भित्रै अनुसन्धान किन सकिएन भन्ने प्रश्नमा डिएसपी भण्डारीले प्रदेश पोर्टलसँग भने, ’यो हाम्रो लागि नयाँ मुद्दा हो । सट्टेबाज त्यसमा पनि अनलाइन एपबाट हुने अवैध कारोबारको अनुसन्धान गर्न कोशी प्रदेशमा दक्ष प्रहरी जनशक्ति छैन । काठमाडौँ तिर यसको लागि छुटै दक्ष टिम बनाइएको हुन्छ र चाँडो अनुसन्धान सकिन्छ ।’

साथै पक्राउ परेकाहरूसँग यसको कारोबार गर्ने अन्यको पनि खोजी भइरहेको भण्डारीले जानकारी दिए । सबैको कल डिटेल निकाल्ने काम भइरहेको उनले बताए । सुनसरीमा ‘वान–एक्स बेट’ एपबाट सट्टेवाज खेलाउने अभियोगमा पक्राउ गरिएको यो इटहरीको घटना सम्भवतः पहिलो हो । यसमा कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजन अधिकारीको निर्देशनबाटै उनीहरूलाई इटहरीबाट पक्राउ गरिएको हो । 

इटहरीबाट पक्राउ गरिएका यी तीन जना ‘वान–एक्स बेट’ का नामी एजेन्ट अनि कारोबारी भएको हालसम्म प्रहरीको अनुसन्धानले देखाएको छ ।