इटहरी: विराटनगरका रयुब श्रेष्ठले गत चैत्र १२ गते ‘राईडर मनिस’ नाम गरेको फेसबुक आइडीको ‘मार्केटप्लेस’ मार्फत सेतो रगंको पोलो भोल्क स्वागेन २०१३ मोडलको बा १७ च १८२१ नं. सेकेन्ड हेण्ड कार खरिद गरे । कार बिक्रीमा राख्ने राइडर मनिष नाम गरेको फेसबुक आइडी इटहरीका मनिष यादव थापाले चलाउँथे । सुरुमा कारको दाम ९ लाख ५० हजार तोकिएको थियो । र अन्तिममा ७ लाख ५० हजारमा दामकाम मिलेर इटहरीको हलगडामा भेट भई ४ लाख बैना दिइ श्रेष्ठले गाडी लगेका थिए ।
केही दिन भित्रै गाडी पास गर्ने दुवैबिच सहमति थियो । तर गाडी बिक्री गर्ने थापाले भने निर्धारित समयमा गाडी पास गर्न आनाकानी गरेपछि श्रेष्ठले खरिद गरेको गाडीको बिल बुक र नम्बर प्लेट यातायात व्यवस्था कार्यालयको ढड्डामा उल्लेख नभएपछि आफू ठगिएको चाल पाए । यातायात कार्यालयमा भएको अभिलेख र गाडीको नम्बर र बिल बुकको विवरण कुनै म्याच भएन । जस अनुसार गाडी १३ मोडल भए पनि नम्बर प्लेट भने १७ मोडलको थियो । र बिल बुकमा गाडीको च्यासिस तथा इन्जिन नम्बर र रगं समेत म्याच थिएन ।
तथापी मनिष थापाले ‘लिलामीको गाडी हो’ ओरजिनल बिल बुक आउन समय लाग्ने भन्दै श्रेष्ठलाई अल्झाइरहेका थिए । थप बुझ्ने क्रममा बा १७ च १८२१ नम्बर प्लेटको गाडी अल्टो कारको भएको पुष्टि भयो । यहाँसम्मकी थापाले श्रेष्ठको नामको नक्कली बिल बुक बनाएर फोटो समेत पठाएका थिए ।
श्रेष्ठले आफूलाई चोरीको गाडी भिडाएको ‘क्लियर’ भएपछि उनले यो विषयमा इटहरी प्रहरीलाई जानकारी गराए । र प्रहरीको समन्वयमा बाँकी रकम दिने भनेर १९ चैतमा इटहरी खनारमा बोलाएर थापालाई प्रहरीले नियन्त्रणमा लियो ।
तर थापा पैसा लिन भनेर आएको अर्काे गाडी जो उनले चलाएका थिए सो गाडी समेत अहिले शङ्कास्पद छ । थापाको साथबाट प्रहरीले प्रदेश १ ०२ ००१ च ७४७८ नम्बरको रातो रगंको होण्डा कम्पनीको कार बरामद गरेको छ ।
यता इलाका प्रहरी कार्यालयले थापासँग बरामद भएको प्रदेश १-०२-००१ च ७४७८ नम्बरको रातो रगंको होण्डा कम्पनीको कारको विवरण यातायात कार्यालयसँग मागेको जनाइएको छ । र श्रेष्ठलाई बिक्री गराएको सेतो गाडी भने चोरीको भएको इटहरी प्रहरीले पुष्टि गरिसकेको छ । हाल यो प्रकरणमा थापा विरुद्ध ठगी मुद्दामा अनुसन्धान भइरहेको छ ।