इटहरी : सुनसरीको धरान ६ पानवारीस्थित पाँचकन्या जङ्गलमा मृत भेटिएकी चुनकुमारी बुढाथोकीको घटनामा ४ जनालाई सोधपुछको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।  नियन्त्रणमा लिएकाहरुमा मृतकको देवर, देवरको श्रीमती, नन्द र एक युवक छन् । प्रहरी स्रोतका अनुसार चुनकुमारीको शङ्कास्पद मृत्युको अनुसन्धान र पारिवारिक  अवस्थाको बारेमा बुझ्न उनीहरूलाई नियन्त्रणमा लिएको धरान प्रहरीले जनाएको छ । 

चुनकुमारीको गत चैत्र २५ गते सोमबार पाँचकन्या जङ्गलमा शव फेला परेको थियो । उनको घाटी र शरीरका अन्य भागमा चोट देखिएको थियो ।

धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं १ माइतीघर र वडा नं २ श्रीमानको घर भएकी चुनकुमारी इटहरीको हलगडामा डेरामा बसेर छोरा पढाइरहेका थिइन् । तर उनको शव सोमबार धरान ६ स्थित पाँचकन्या  जङ्गलमा भेटिएको थियो । उनका आफन्तजनहरूले बुधवार राती मात्र प्रहरीको सम्पर्कमा आएर शवको सनाखत गरेका थिए ।