इटहरी : सुनसरीको सीमावर्ती गाउँपालिका देवानगन्जमा गोली लागेर एक जना गम्भीर घाइते भएका छन् । भारतीय नम्बरको पल्सर २२० सिसिको मोटरसाइकलमा आएका तिन जनाको समूहले देवानगन्ज ७ का २६ वर्षीय शिव कुमार मेहता, पिन्टु यादव र देवानगन्ज १ का २४ वर्षीय रवीन यादवलाई गोली प्रहार गरेका थिए ।
गोली प्रहारबाट शिवु कुमार मेहताको पेटमा गोली लागेको छ भने अन्य दुईको अवस्था सामान्य छ । मेहताको विराटनगर स्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । 
प्रत्यक्षदर्शीका अनुसार गोली भने शिवु कुमारलाई मात्र लागेको छ । बाँकी दुई जना बाइकबाट अत्तालिएर लडेर घाइते भएको अवस्था छ ।
बाइकमा सबार तिनै जना आफ्नो घर तर्फ आउने क्रममा रासी भन्ने ठाउँमा गोली प्रहार भएको हो । घटनाको वास्तविकता बुझ्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गोली प्रहार गर्ने मध्ये एक जना भारतीय रहेको बताइएको छ ।
देवानगन्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताका अनुसार घटना पश्चात् सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी गोली प्रहार गर्नेहरूको खोजी भइरहेको प्रदेश पोर्टललाई जानकारी दिए ।
घटनास्थलबाट तिन राउन्ड गोलीको खोका बरामद भएको अध्यक्ष मेहताले जानकारी दिए । घटना साँझ ६ः४५ बजे भएको प्रहरीले जनाएको छ ।