काठमाडौँः  वैदेशिक रोजगारीका नाममा हुने ठगी बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१र८२ को साउनदेखि वैशाखसम्म ठगीका नौ हजार ८६६ उजुरी दर्ता भएका छन् । आव २०८०र८१ मा सात हजार ७६३ वटा त्यस्ता उजुरी दर्ता भएका थिए । जुन सङ्ख्या चालु आवका १० महिनामै १०३ वटा (२७ प्रतिशत) ले बढी हो । 

विभागका अनुसार आव २०८०/८१ मा सात हजार ७६३, आव २०७९/८० मा तीन हजार ३५६ र आव २०८१/८२ को १० महिनामै नौ हजार ८६६ उजुरी दर्ता भएका छन् । 

विभागका अनुसार आव २०८१/८२ को वैशाखसम्म १६६ मुद्दा अदालतमा दायर भएका छन् । अदालतमा दायर भएका मुद्दाको बिगो रकम माग अर्बको हाराहारी भएको विभागले जनाएको छ । 

वैदेशिक रोजगारीमा जाने अधिकांश युवा गाउँघरकै दाजुभाइ, दिदीबाहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीलगायतबाट ठगिने गरेका छन् । यस्तो तथ्याङ्क उजुरीका आधारमा मात्र आएको हुँदा उजुरी नपरेका ठगी अरू बढी हुने सम्भावना छ । 

विभागका अनुसार यस अवधिमा सबैभन्दा बढी उजुरी मुद्दा र अनुसन्धान शाखामा चार हजार २९३ वटा दर्ता भएका छन् । दर्ता भएका उजुरीमध्ये ४६० वटाको मिलापत्र र १६६ वटा अदालतमा मुद्दा दायर भएको विभागले जनाएको छ । 

मिलापत्र गराउँदा पीडकबाट पीडितलाई क्षतिपूर्तिबापत ३० करोड तीन लाख ८९ हजार ६७५ रुपियाँ भराइएको विभागका उपमहानिर्देशक चन्द्रबहादुर शिवाकोटीले जानकारी दिए । परेका उजुरीमध्ये तीन हजार ६६७ वटा उजुरी छानबिन भइरहेको छ । 

विभागका अनुसार सो अवधिमा विभागका रहेको प्रहरी शाखामा चार हजार १९७ उजुरी दर्ता भएका छन्, जसमध्ये तीन हजार ८४७ वटा उजुरी फस्र्योट भए भने १२ वटा उजुरीमा मिलापत्र गराइएको छ । जसबाट १२ लाख चार हजार पाँच सय रुपियाँ बराबरको रकम क्षतिपूर्तिबापत भराएको विभागले जनाएको छ । प्रहरीमा दर्ता भएका उजुरीमध्ये ३४० वटा फस्र्योट हुन बाँकी छ । 

त्यसै गरी विभागकै उद्धार, राहत तथा समन्वय शाखामा एक हजार ४७६ वटा उजुरी दर्ता भएकामा ७५६ वटाको फस्र्योट गरिएको छ । जसमध्ये ५३३ वटा उजुरीबाट छ करोड छ लाख १० हजार ८५० रुपियाँ बराबरको रकम क्षतिपूर्ति भराइएको छ । सो शाखाले सो अवधिमा आएका उजुरीमध्ये ६१ जनालाई आपसी सहमति गराएको छ भने ३३ वटा उजुरी तामेलीमा राखेको छ । सो शाखाले वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका एक सय जनालाई विभिन्न देशबाट उद्धार गरी स्वदेश ल्याएको जनाएको छ । 

विभागका प्रवक्ता एवं उपमहानिर्देशक शिवाकोटीले वैदेशिक रोजगारीका क्रममा परेका उजुरीमध्ये ठुलो सङ्ख्याका व्यक्तिगत भएकाले ती उजुरी टुङ्गो लगाउन समय लाग्ने बताए । संस्थागत उजुरीका हकमा कारबाही गर्न पनि सहज हुने तर व्यक्तिगत उजुरीका दोषी पत्ता लगाउनै नै समय लाग्ने गरेको उनको भनाइ छ । 

विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले विदेश जाने बेला सरकारले तोकेभन्दा बढी रकम तिर्ने र विदेशमा पुगेर समस्यामा परेपछि मैले यति रकम तिरेको भन्दै विभागमा उजुरी गर्न आउने युवाको सङ्ख्या धेरै भएको जानकारी गराए।  महानिर्देशक भट्टराईले व्यक्तिगत रूपमा हुने ठगी धेरै रहेको भन्दै युरोप, अमेरिका, अस्ट्रेलियालगायतका देशमा जान पढेलेखेकै व्यक्ति पीडित हुने गरेको र रकम पनि ठुलो परिणामको हुने गरेको बताए । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित भएको छ ।