इटहरीः निर्माणाधीन एसियन हाइवे अन्तर्गत अहिले दुई खण्डमा काम भइरहेको छ । पूर्वी खण्ड र पश्चिम खण्ड गरी अहिले निर्माणको काम जारी छ । थाइल्यान्डको बैंककबाट सुरु भएको उक्त हाइवे म्यानमार, बंगलादेश, भारत हुँदै नेपालको पूर्व–पश्चिम राजमार्ग भएर नयाँदिल्लीबाट पाकिस्तानको कराँची पुग्नेछ । भारतले पश्चिम बंगाल हुँदै नेपालको काँकडभिट्टा नाकासम्म उक्त हाइवे विस्तार गरिसकेको छ । अहिले काकडभिट्टादेखि इटहरीसम्म पाँच वटा खण्डमा ठेक्का लागेर काम भइरहेको छ ।
जसमा सडकबाहेक ६९ वटा कल्भर्ट, तीन सय मिटरभन्दा लामो तीनवटा पुल र तीन सय मिटरभन्दा कमको २८ वटा पुल निर्माण हुनेछ । तीन सय मिटरभन्दा लामो झापाको रतुवा र मोरङमा रहेका बक्राहा र लोहन्द्रा खोलाको पुल निर्माण हुनेछ ।
सहरी क्षेत्रमा ६ लेन र वन क्षेत्रमा चार लेनमा निर्माण हुने उक्त सडकको कामले गति लिइरहेको छ । काँकडभिट्टा–लौकही सडक आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका सूचना अधिकारी इन्जिनियर पल्लव श्रेष्ठका अनुसार झापाको सितापुरीदेखि इटहरीको लवीपुरसम्म जम्मा ९५.७ किलोमिटर सडक निर्माणका लागि ठेक्का लागेर काम भइरहेको छ । श्रेष्ठका अनुसार पूर्वी खण्डमा ४५ किलोमिटर र पश्चिम खण्डमा ५०.७ किलोमिटर सडकको काम भइरहेको छ ।
पश्चिम खण्डमा करिब २० प्रतिशत काम भइसकेको उनले बताए । प्याकेज १ र ४ पूर्वी खण्डले हेर्दै आएको छ भने प्याकेज २, ३ र ५ पश्चिम खण्डले हेर्दै आएको छ । जसअनुसार प्याकेज २ मा झापाको सितापुरीदेखि मोरङको गोठगाउँसम्म पर्छ भने प्याकेज ३ गोठगाउँदेखि इटहरीको लवीपुरसम्म पर्छ । प्याकेज ५ भने तीन सय मिटर भन्दा लामो पुलहरू पर्ने उनले बताए ।
प्याकेज २ मा हालसम्म २३ प्रतिशत काम भएको छ भने प्याकेज ५ मा २१ प्रतिशत र प्याकेज ३ मा ११ प्रतिशत काम भएको छ । ‘समयले साथ दिएसम्म बर्खाअघि नै केही भागमा पिच गरिनेछ । मनसुन भएको समयमा पनि फ्याक्ट्रीमा स्टिलको काम हुनेछ,’ श्रेष्ठ भन्छन्, ‘सहरी क्षेत्रमा मानिसको मुभमेन्ट हुने भएकाले सर्भिस लेन निर्माण हुन्छ । जहाँ स्थानीय स्तरमा गुड्ने गाडीहरू सञ्चालन हुन्छन् ।’
उनका अनुसार बाक्लो मनसुन हुनुअघि नै प्याकेज २ अन्तर्गत पर्ने मोरङको लक्ष्मीमार्गदेखि कानेपोखरीको जङ्गल क्षेत्रमा पर्ने सडक पिच गर्ने तयारी छ ।
‘सडक विस्तार कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ । बर्खा सुरु हुनुअघि नै लक्ष्मीमार्गदेखि कानेपोखरीसम्मका केही भागहरू पिच गर्ने तयारी गरिएको छ,’ उनले भने, ‘ निर्माणको संरचना अनुसार सहरी क्षेत्रका सडकहरू ६ लेनका हुनेछन् । जसमा मुख्य ४ लेन र अतिरिक्त सर्भिस लेन रहनेछन् । चार लेन सडकमा चल्ने तीव्र गतिका गाडीहरूलाई साना सवारी साधनहरूले अवरोध नपु¥याउने गरी लेन व्यवस्थापन गरिनेगरी निर्माण भइरहेको छ । पिच हुने सडक असारभन्दा अगाडि नै सम्पन्न हुनेछन् ।’
उनका अुनसार जंगल क्षेत्रहरूमा भने सबै ४ लेन सडक हुनेछन् । चार लेनमा गुड्ने सवारी साधन भनेको लामो रुटमा चल्ने र त्यसको डिजाइन ‘स्पिड’ प्रतिघण्टा एक सय किलोमिटर रहेको इञ्जिनियर श्रेष्ठले बताए । ‘लामो रुटमा चल्ने गाडीहरूका लागि डिस्टर्ब नहोस् भन्नका लागि बजार क्षेत्रमा सर्भिस लेन निर्माण गरिने भएको हो,’ उनले भने, ‘चार लेनमा स्पिड कुदिरहेको सवारीलाई स–साना गाडी, सफारी र अन्य स्थानीय रुटमा चल्ने गाडीले डिस्टर्ब नगरोस् भनेर त्यही किसिमको डिजाइन भएको छ ।’
अहिले इटहरीदेखि पूर्व काकडभिट्टासम्म नै विभिन्न स्थानमा डाइभर्सन निकालेर काम भइरहेको छ । डाइभर्सनका कारण लामो रुटमा चल्ने यातायातलाई समस्या हुने गरेको छ । तर, बर्खाअघि सबै क्षेत्रका डाइभर्सन ‘क्लोज’ गरिने श्रेष्ठले बताए ।
‘जति डाइभर्सन छ, त्यो बर्खाअघि नै काम सकिएर क्लोज हुन्छ । अब डाइभर्सन थपिने अवस्था छैन । जति पनि ठाउँमा डाइभर्सन निकालेर काम भइरहेको छ त्यो बर्खाअघि नै सम्पन्न हुँदा बाढीको कुनै जोखिम हुँदैन,’ उनले भने । उनका अनुसार बर्खाको समयमा सडकमा काम गर्न समस्या भएपनि फ्याक्ट्रीमा स्टिल निर्माण कार्य चलिरहने र प्राविधिक रूपमा सम्भव भएकाले अधिकांश डाइभर्सनहरू बर्खाअघि नै बन्द गरिने तयारी छ ।
आयोजनाका अनुसार सडक विस्तारमा विद्युत् पोल ठूलो बाधक बनेको छ । सहरी क्षेत्रमा तीन हजारभन्दा बढी पोल सार्नुपर्ने अवस्थामा विद्युत् प्राधिकरण र निर्माण कम्पनीबीच समन्वय अभाव देखिएको छ । प्राधिकरणले ठेक्का दिइसकेको भए पनि केही ठेकदारहरूले काम नगरेको गुनासो गरिएको छ ।
विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालय विराटनगरका अनुसार अहिले बिजुलीको पोल सार्ने काम भइरहे पनि तार अभावका कारण तत्काल पूर्ण काम भइसकेको छैन । केही समयमै थप तार आइपुग्ने र बिजुलीको पोल र तार सँगसँगै सार्ने काम हुने कार्यालयले जनाएपनि ठेक्का लिएको कम्पनीले काम सुस्त गर्दा सडकको काममा पनि केही ढिलाइ हुनसक्ने बताइन्छ ।
‘हामीले विद्युत् प्राधिकरणलाई पैसा जम्मा गर्ने र विद्युत् प्राधिकरणले आफैँ ठेक्का लगाउनेगरी सम्झौता भएको थियो । जसअनुसार प्राधिकरणले पनि काम अगाडि बढाएको छ । हामीले समय–समयमा पैसा जम्ममा गरिरहेका छौँ,’ एसिएन हाइवे सडक आयोजना पश्चिम खण्डका प्रमुख जगत प्रजापति भन्छन्, ‘समयमा पोल नसरेका कारण सहरी क्षेत्रमा प्रोगेस हुन सकेको छैन । समन्वयका लागि पटकपटक बैठक बस्यो । तीन हजार भन्दा बढी पोल सार्नुपर्ने भएकाले बजार क्षेत्रमा अपेक्षित काम हुन सकेको छैन ।’
उनका अनुसार निर्माणको प्रगति र चुनौतीहरूको मूल्याङ्कन गर्न हरेक महिनाको सुरुमा समन्वय बैठक बस्ने गरिएको छ ।
इटहरीमा तीनवटा ‘ओभरपास’
उक्त सडकखण्ड अन्तर्गत इटहरीमा तीनवटा ‘ओभरपास’ बन्नेछन् । इटहरी खण्डमा बूढी खोलादेखि लवीपुरसम्म तीनवटा ओभरपास बन्नेछ । इटहरी चोकमा एउटा ओभरपास बन्नेछ । जहाँ इष्ट वेस्ट हाइवे अन्तर्गत सवारी साधन माथिबाट सञ्चालन हुनेछ भने नर्स साउथको क्रसिङ तलबाट हुन्छ ।
इटहरी चोकमा एउटा, इटहरी चोकभन्दा पूर्वतिर तालतलैया जाने क्षेत्रमा अर्को र पश्चिमतर्फ इटहरी बसपार्कबाट हाइवे आउने बाटोको कलंकीमा अर्को ओभरपास बन्नेछ । ‘आरइ वाल कन्स्ट्रक्सन’ गरेर ‘ओभरपास’ बन्ने आयोजनाले जनाएको छ ।
खासगरी इटहरी चोकमा भने ४२ मिटरको चौडाई र साढे ५ मिटरको उचाईमा ‘ओभरपास’ बन्नेछ ।
‘पूर्वतिर र पश्चिमतिर भने १३ मिटर चौडाई र साढे ५ मिटर हाइटको ओभरपास बन्नेछ,’ प्रजापतिले भने, ‘दुवैतिर साढे ६ मिटरको सर्भिस लेन, साढे ५ मिटरको फुटपाथ र साइकल लेन र बिचमा साढे ३३ मिटरको सडक गरी ५० मिटरमा काम भइरहेको छ ।’
यसैगरी ‘एसियन हाइवे’ अन्तर्गत इटहरीमा तीनसहित झापाको चारआली, बिर्तामोड, चारपाने, मोरङको बलियामा ‘ओभरपास’ बन्नेछन् । आयोजना प्रमुख प्रजापतिका अनुसार तीन वर्गमा निर्माण हुने उक्त सडक बजार क्षेत्र, जङ्गल क्षेत्र र ग्रामीण क्षेत्र भनेर छुटाइएको छ । सहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेनसहित निर्माण हुनेछ । ६ स्थानमा ‘सिग्नेचर’ पुल निर्माण हुनेछन् । नेपालको कालिका र तुङ्गी कन्स्ट्रक्सन चाइनिज कम्पनीले जोइन्डमा सडक निर्माण गर्नेछन् ।
कति संरचना भत्किन्छन् ?
यो आयोजना अन्तर्गत इटहरी क्षेत्रमा एक सय २४ वटा संरचना हटाइने भएको छ । जिल्ला प्रशासन कार्यालय, सुनसरीले बिहीबार सार्वजनिक सूचना जारी गर्दै इटहरीको बूढी खोलादेखि लविपुरस्थित देवी खोलासम्मको सडक खण्डमा पर्ने संरचनाहरू हटाउनुपर्ने जानकारी दिएको हो ।
सूचनाअनुसार ती संरचनाहरू सरकारी नक्साअनुसार सडक सीमाभित्र परेका छन् । जसका कारण मुआब्जा तथा क्षतिपूर्तिसहित हटाइने उल्लेख गरिएको छ ।
प्रशासनले प्रभावित संरचना धनीहरूलाई ३५ दिनभित्र आफ्नै प्रयासमा संरचना हटाउन आग्रह गरेको छ । तोकिएको समयसीमा भित्र स्वेच्छाले संरचना हटाए मात्र क्षतिपूर्ति पाउने प्रस्ट पारेको छ । जग्गा प्राप्ति ऐन, २०३४ को दफा १८ अनुसार सूचना प्रकाशित गरिएको हो ।‘सूचना प्रकाशन भएको मितिले १५ दिन पछि सम्बन्धित व्यक्ति वा हकवालाले नेपाली नागरिकताको प्रतिलिपि, स्थानीय निकायबाट तीनपुस्ते खुल्ने प्रमाणित कागजात र निजको हकवालाको हकमा नाता प्रमाणित कागजात तथा प्रभावित संरचनाको प्रष्ट देखिने प्रमाणित फोटो, सम्बन्धित व्यक्तिको बैंक खाता नम्बर, पान नम्बर लगायत अन्य आवश्यक कागजात समेत संलग्न गरी मुआब्जा क्षतिपूर्तिको लागि निवेदन पेश गर्न सकिनेछ,’ सूचनामा उल्लेख छ ।
मुआब्जा सम्बन्धी थप विवरणका लागि आयोजना कार्यालय, इटहरी–सुनसरीमा सम्पर्क गर्न सूचनामा भनिएको छ । ‘सबै घर तथा भवनहरू आंशिक रूपमा भत्किन्छन्,’ श्रेष्ठले भने, ‘पूरै क्षति हुने कुनै पनि छैनन् । सबै आंशिक भएकाले घर धनीले आफैँ संरचना हटाउन आग्रह गरिएको छ । संरचना आफैँ नहटाएमा कानुनअनुसार काम अगाडि बढ्छ ।’
आयोजना कार्यालय र भवन विभागले संयुक्त रूपमा नापजाँच गरिसकेपछि सीडीओ कार्यालयबाट यकिन तथ्यांक आएकाले सूचना प्रकाशन गरिएको उनले जनाए । सहरी विकासअन्तर्गतको संघीय आयोजना कार्यालय विराटनगरले स्टिमेट निकालिसकेको, भवन विभागले मूल्यांकन गरिसकेको उनको भनाइ छ ।
विद्युत्को पोल सर्यो, तार नसर्दा समस्या
आयोजना अन्तर्गत पूर्वी खण्डका सूचना अधिकारी आशिष देवका अनुसार पूर्वी खण्डमा दुई हजार दुई सय वटा ५९ वटा पोलमध्ये एक हजार ६ सय ५९ वटा पोल सारिएको छ । पोल सारिएपनि तार नसर्दा भने समस्या भएको छ । ‘पुरानो पोलको तार नयाँ पोलमा हाल्न समस्या भइरहेको छ,’ देवले भने, ‘पोल त स¥यो तर, तार सरेन । अझै ६ सय वटा पोल सार्न बाँकी छ । मुख्य कुरा त तार नसर्दासमेत समस्या भइहरेको छ ।’
उनका अनुसार प्याकेज १ काकडभिट्टादेखि सीतापुरीसम्म पर्छ । प्याकेज ४ मा तीन सय मिटर लामो तीन वटा पुलहरू रहेका छन् । देवका अनुसार कन्काई, बिरिङ, निन्दा पुल प्याकेज ४ मा पर्छन् । प्याकेज १ मा २२ प्रतिशत र प्याकेज ४ मा १९।७ प्रतिशत काम सम्पन्न भइसकेको उनले बताए ।
‘पूर्वी खण्डमा वैशाख १५ देखि नै मनसुन सुरु हुँदा सडकको प्रोगेस केही ढिलाइ भइरहेको छ । हामीले सोचेभन्दा ३ प्रतिशत ढिलाइ काम भएको छ,’ उनले भने, ‘वैशाख, जेठ, असारमा बढी काम हुने भएपनि समयअगावै मनसुन हुँदा केही समस्या भइरहेको छ ।’
उनका अनुसार पूर्वी खण्डमा साइड क्लियरेन्सको कुनै समस्या छैन । खासगरी डाइभर्सनको काम ‘क्लोज’ गर्नेगरी काम भइरहेपनि मनसुनले केही ‘डिस्टर्ब’ भइरहेको छ । ‘हामीले यतिबेलासम्म सबै डाइभर्सन क्लोज गरिसक्ने तयारी थियो । तर, मनसुनका कारण समस्या भयो,’ उनले भने, ‘अब असारभित्रमा डाइभर्सन क्लोज गर्नेछौँ । मनसुन धेरै भएको अवस्थामा फ्याक्ट्रीमा काम हुन्छ ।’
सहरी क्षेत्रमा ५० मिटर, अर्धसहरी क्षेत्रमा ३३ मिटर र जंगल क्षेत्रमा २४ मिटरको बन्ने उक्त सडक झापाको काकडभिट्टादेखि सुनसरीको लौकहीसम्म बनाउनेगरी डीपीआर र डिजाइन तयार गरिएको थियो । तर, तत्काल भने काकडभिट्टादेखि इटहरीको लवीपुरसम्म मात्रै सडक निर्माण हुने आयोजनाले जनाएको छ ।
एसियाली विकास बैङ्कको ऋण सहयोग र नेपाल सरकारसँगको साझेदारीमा उक्त सडक निर्माण भएको हो । जसमा एसियाली विकास बैङ्कले ८४.१ प्रतिशत ऋण सहयोग गरेको छ भने १५.९ प्रतिशत रकम भने नेपाल सरकारको रहेको छ । कुल ३४ अर्ब ९१ करोडमा काँकडभिट्टादेखि लौकहीसम्म सडक बन्नेगरी सम्झौता भएको हो । पूर्वी र पश्चिम गरी दुई खण्डमा बन्न लागेको यो आयोजना एसियन हाइवेको एउटा भाग हो । २०२४ फेब्रुअरी १ बाट सुरू भएको योजना २०२७ फेब्रुअरी १ मा सम्पन्न गर्ने लक्ष्य छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।