धरानः धरानका एक किशोरलाई भारतीय सीमावर्ती क्षेत्रमा पुर्‍याई मोबाइल लुटेर उनका अभिभावकसँग फिरौती रकम माग गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट तीन जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय धरानले दिएको जानकारीअनुसार घटनामा भारतीय नागरिकको समेत संलग्नता देखिएको छ।

पक्राउ परेका व्यक्तिहरूमा विराटनगर महानगरपालिका–१६ निवासी १९ वर्षीय प्रलवकुमार विक, १७ वर्षीय दीपक अधिकारी र २३ वर्षीय मुकेश सरदार छन्। उनीहरूविरुद्ध इलाका प्रहरी कार्यालय रानी, मोरङमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सुनसरीको धरान उपमहानगरपालिका–१७ फोकल्याण्ड टापु निवासी १७ वर्षीय प्रज्ञान राई र इटहरी उपमहानगरपालिका–१९ तरहराका १७ वर्षीय आशिष गुरुङ केही दिनअघि बिराटनगरको ट्राफिक चोक नजिकै रहेको टोम एण्ड जेरी होटलमा काम गर्न गएका थिए। लागुऔषध दुर्व्यसनमा संलग्न देखिएका उनीहरूलाई साथिहरूले भारतको जोगवनीसम्म लगेका थिए।

जोगवनीमा पुगेर प्रज्ञान राईको मोबाइल लुटपाट गरिएको र उनीहरूमाथि आक्रमण गर्न खोजिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगूले बताए। त्यहाँबाट उनीहरू भागेर नेपाल फर्किएपछि, लुटिएको मोबाइल प्रयोग गरी प्रज्ञानका बुवा खेम प्रताप राईलाई फोन गरी फिरौतीको माग गरिएको थियो।

“छोरा चाहिन्छ भने ३० हजार रुपैयाँ लिएर विराटनगरको बिग होटल छेउमा आउनु” भनेर धम्की आएको प्रहरीले जनाएको छ। त्यसपछि खेम प्रताप राईले मिति २०८२ जेठ २७ गते बिहान इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका थिए।

उक्त सूचनाका आधारमा प्रहरी निरीक्षक जीवन कुँवरको नेतृत्वमा खटिएको टोलीले मोरङ प्रहरीसँगको समन्वयमा विराटनगर बसपार्कबाट प्रलव विक र दीपक अधिकारीलाई पक्राउ गरेको थियो। प्रारम्भिक बयानका आधारमा मुकेश सरदारलाई पनि नियन्त्रणमा लिइएको हो।

अनुसन्धानमा संलग्न अधिकारीहरूले भारतको जोगवनी निवासी करिब २२ वर्षीय गोलु सिंहले नै फिरौती लिन पठाएको जानकारी दिएका छन्। गोलु सिंह हाल फरार छन्। डिएसपी जबेगूका अनुसार उनी लागुऔषध कारोबारमा संलग्न व्यक्तिका रूपमा परिचित हुनसक्ने आशंका गरिएको छ।

धरान प्रहरीका अनुसार अपहरणमा परेका प्रज्ञान राई, आशिष गुरुङ र विराटनगर–१५ निवासी २० वर्षीया बिजेता तामाङलाई इटहरी–१९ तरहराबाट सकुशल उद्धार गरिएको छ। उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानमा ल्याई सोधपुछपछि मंगलबार साँझ अभिभावकको जिम्मा दिइएको हो।

प्रहरीले घटनामा संलग्न भनिएका सबैको भूमिका विस्तृत रूपमा अध्ययन गरिरहेको जनाएको छ। “सुरुमा उनीहरू आपसी सहमतिमा भारत गएका भए पनि त्यहाँ पुगेर परिस्थिति बिग्रिएको देखिन्छ,” डिएसपी जबेगूले भने, “मोबाइल लुटिएपछि नै फिरौती माग्ने योजना बनेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।”

पक्राउ परेका तीनजनाविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको छ। घटनामा फरार रहेका भारतका गोलु सिंहको खोजी जारी रहेको र घटनाको प्रकृति हेरेर थप कानुनी कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ।