इटहरी : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको (पीआइटी) टोलीले इटहरी उप–महानगरपालिका क्षेत्रमा तिन दिन लगाएर गरेको अप्रेसनबाट अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) मार्फत हुण्डी र अनलाइन जुवा खेलाउने ६ जनालाई पक्राउ गरेको छ ।
यस सम्बन्धी पीआइटीको दक्ष टिमले गरेको अप्रेसनबाट पक्राउ गरेका यी ६ जनाले नेपाली डेढ करोड रुपैयाँ भन्दा माथिको कारोबार गरेको आशङ्का गरिएको छ ।
पीआइटी टोलीले सुरुमा इटहरी १२ खनार बस्ने २७ वर्षीय प्रभु नारायण चौधरी र इटहरी ११ बस्ने २७ वर्षीय प्रशिन चौधरीलाई पक्राउ गरेको थियो । प्रभु यस अघि पनि मोरङबाट क्रिप्टो मार्फत हुण्डी कारोबार गरेको अभियोगमा पक्राउ परिसकेका व्यक्ति हुन ।
प्रभु र प्रशिन साथी साथी हुन र उनीहरू मिलेर क्रिप्टो मार्फत हुण्डी कारोबार गर्ने र अनलाइन मार्फत जुवा (गेमिङ) खेलाउने कार्यमा लामो समयदेखि सक्रिय थिए ।
यी दुवै सङ्गठित कारोबारी भएको बताइएको छ । पीआइटी टोलीका अनुसार दुवैले मोबाइल सेट मार्फत बाइनेन्स र क्यास एप वालेट मार्फत कारोबार अर्थात् पैसा निकाल्ने र लोड गर्ने गर्दथे । प्रभुको साथबाट दुई थान मोबाइल सेट र प्रशिनको साथबाट एक थान मोबाइल सेट बरामद गरिएको छ । बरामद गरिएको सबै सेट निकै महँगो र हाई प्रोसेसर (र्याम) भएको पाइएको छ ।
दुवै प्राय घरको कोठामा समिति भएर काम गर्ने र हुण्डीको काम पर्दा मात्र पैसा डेलिभरी गर्न बाहिर निस्कने गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीको पीआइटी टोलीका अनुसार प्रभु र प्रशिनको जीवनशैली देखेर जो कोही आश्चर्यमा पर्ने गरेका थिए । उनीहरूको आलिसान घर अनि उक्त घरमा ५ वटासम्म एसी जडान भएको अवस्था छ । यतिको कम उमेरमा उनीहरूको कारोबार अस्वाभाविक देखिएपछि पिआईटी टोलीले दुवैमाथि निगरानी गर्न थालेको थियो ।
दुवैले नेपाल राष्ट्र बैङ्कबाट अनुमति नलिई अवैध रूपमा अभौतिक मुद्राको कारोबार गरेको अनि हुण्डी मार्फत विदेशबाट नेपाल पैसा पठाउने काममा संलग्न भएको आधारमा पक्राउ गरिएको हो ।
यस्तै पीआइटी टोलीले सुरज भनिने सन्तोष कुमार साहको समूहलाई समेत पक्राउ गरेको छ । यो समूहका ४ जना सदस्यलाई समेत महँगो मूल्यका मोबाइल सेटहरूसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी ७ बस्ने २२ वर्षीय सन्तोष कुमार साह (सुरज), इटहरी ११ का २६ वर्षीय चन्दन डोम, मोरङ सुन्दरहरैचा २ का २० वर्षीय निसान कुमार खवास र इटहरी १२ का ३२ वर्षीय लाल बहादुर गौतम छन् । प्रहरी स्रोतका अनुसार सन्तोष यस अघि पनि यस्तै प्रकरणमा पक्राउ परिसकेका व्यक्ति भएको दाबी गरिएको छ ।
यी ४ जनाले समेत क्रिप्टो मार्फत हुण्डी कारोबार गर्ने र अनलाइन जुवा (गेमिङ) गराउने गरेका छन् । उनीहरूले पनि बाइनेन्स र क्यास एप वालेट मार्फत कारोबार गर्ने गरेका थिए ।
पक्राउ परेका ६ जनाले नै अमेरिकन डलर (युएसडिटी) मार्फत नेपाली रुपैयाँको कारोबार गर्ने गरेका छन् । साथै डलर मार्फत नेपाली अलावा भारतीय रुपैयाँको समेत कारोबार गर्दथे । उनीहरूले अरू व्यक्तिको कारोबार र अनलाइन जुवा (गेमिङ) गराए बापत ५ देखि २० प्रतिशत कमिसन लिने गरेका छन् । कतिपय अवस्थामा यसरी कारोबार गर्ने व्यक्तिले पैसा गायब समेत बनाइदिने गरेका छन् ।
प्रदेश प्रहरीको टोलीले पक्राउ गरेका सबैलाई थप अनुसन्धान र मुद्दा चलाउन इलाका प्रहरी कार्यालय इटहरीलाई जेठ २७ गते बुझाएको हो ।
अब इटहरी प्रहरीले उनीहरूको मोबाइल सेट, बैङ्क खाता तथा यसको थप कनेक्सनको अनुसन्धान गर्ने छ । यता इलाका प्रहरी कार्यालय इटहरीले भने ६ जनालाई जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ । इटहरी प्रहरीका अनुसार पक्राउ परेका सबै सङ्गठित कारोबारी र अनलाइन ठगीमा संलग्न भएको पाइएको छ ।
नेपालमा भने क्रिप्टो करेन्सीलाई प्रतिबन्ध लगाएको छ । यसले स्वदेशी लगानी विदेशमा लगानी भई पुँजी पलायन हुन जाने, विदेशी विनिमय सञ्चिति व्यवस्थापन र पर्याप्ततामा चुनौती हुन सक्ने लगायतका जोखिमलाई दृष्टिगत गरी क्रिप्टोलाई नेपालमा प्रतिबन्ध लगाएको अवस्था छ ।