प्रेम बास्तोला

इटहरीः गर्मी बढेसँगै कोशी प्रदेशकै मुख्य पर्यटकीय गन्तब्य मध्यको एक भेडेटारमा आन्तरिक तथा बाह्य पर्यटकको चाप थामिनसक्नु गरि बढेको छ । 

शनिवार पर्यटन व्यवसायीहरुले मात्र नभई पर्यटक प्रहरीले समेत कल्पना नै नगरेको संख्यामा नेपाल तथा भारतबाट पर्यटक गर्मी छल्न भेडेटार आएपछि उनीहरुको व्यवस्थापन गर्न धेरै नै कठिनाई भएको हो । 

अंग्रेजी तथा नेपाली नयाँ बर्षमा भन्दा बढी शनिवार पर्यटक भेडेटार भित्रिएकाले उनीलाई व्यवस्थापन गर्न कठिनाई भएको होटल एशोशिएसन भेडेटारका सचिव रमेश श्रेष्ठले बताए । 

पर्यटक र ट्राफिक प्रहरीलाई पर्यटकका सवारी साधनहरुलाई व्यवस्थितगर्नका लागि ठूलो कठिनाई भएको थियो । पर्यटन व्यवसायमा लागेका होटल संचालकहरुलाई भेडेटार आउने पर्यटकहरुलाई खान बस्नका लागि आवश्यक व्यवस्थापन गर्न हम्बेहम्बे परेको सचिव श्रेष्ठले बताए । सवारी साधनहरु भेडेटारदेखि धरानतर्फ ३ किलोमिटर र नमस्ते झरना तर्फ पनि ३ किलोमिटरसम्म जाम लागेका थिए । 

Screenshot_20250615_180259_Gallery

भेडेटारमा परिचालित पर्यटक प्रहरी र ट्राफिक प्रहरीले सवारी साधनको जामलाई व्यवस्थापन गर्न नसकेपछि ट्राफिक व्यवस्थापनमा पर्यटकहरु समेत लागि परेको भेडेटार चौकैमा रहेको प्रधान होटलका संचालक बाबुराम प्रधानले जानकारी दिए । 

भेडेटारमा अंग्रेजी नयाँ बर्षमा हुने सडक महोत्सवमा समेत यस्तो समस्या नआएको तर हिजो(शनिवार) हालसम्मकै रेकर्ड तोड्ने गरी आन्तरिक तथा बाह्य पर्यटकहरुको थामिनसक्नु भीड लागेको प्रधानले बताए । प्रधानले भने—‘ भेडेटार र त्यसको वरिपरि करिब ३ किलोमिटर क्षेत्रमा खुट्टो हाल्ने ठाँउ थिएन । होटल व्यवसायीहरुलाई एक घुड्की पानी पिउने फुर्सद समेत थिएन ।’

तराईका जिल्ला र भारतको बिहार, पश्चिम बंगाल तर्फ केही दिनअघिबाट अत्याधिक गर्मी बढेसँगै भेडेटारमा शितलताका लागि आउने पर्यटकहरुको चास बढ्दै गएको थियो । शनिवार नेपाल तर्फ सार्वजनिक विदा समेत परेकाले दुवै तर्फका पर्यटकहरुको आगमन थामिनसक्नु भएको प्रधानले बताए । 

होटल एशोशिएसन भेडेटारका सचिव श्रेष्ठका अनुसार भेडेटार कोशी प्रदेशको उत्कृष्ट पर्यटकीय गन्तब्य मध्ये मुख्य गन्तब्यका रुपमा भएपनि पार्किङको ठूलो अभाव छ ।

भेडेटार आउने सबै खालका सवारी साधनहरुलाई राख्नका लागि व्यवस्थित पार्किङ भईदिएको भए शनिवार जस्तो आपत कसैलाई नआउने सचिव श्रेष्ठको दावी छ । उनले भेडेटारमा तत्कालै ट्राफिक व्यवस्थापनका लागि व्यवस्थित पार्किङ निर्माणको काम थालिहाल्नु पर्ने आवश्यकता देखिएको बताए । 

Screenshot_20250615_180243_Gallery

उनका अनुसार भेडेटारमा एशोशिएसनमा आवद्ध १ सय र बाहिर १ सय गरी जम्ममा साना ठूला गरी २ सयवटा होटलहरु संचालित छन् । ती होटलहरुमा करिब ५ हजार पर्यटकहरुलाई धान्न सक्ने क्षमता रहेको उनले सुनाए । तर, शनिवार आधा जसो पर्यटकहरु कोठा नपाएर धरान र इटहरी तर्फ नै झरेको उनको भनाई छ । 

सचिव श्रेष्ठ भन्छन् होटलका कोठाहरु बेलैमा प्याक भएका थिए । एउटा कोठामा बेडमा नअटेर भुईमा थप ओछ्यान लगाएर पनि सुताउने काम भयो । भुईमा सुताउँदा पनि धेरै पर्यटकहरुलाई फर्काउनु पर्ने बाध्यता भयो । होटल मात्र नभई होमस्टे पनि सबै भरीभराउ भएकाले त्यस्तो हुन गएको हो ।’

सचिव श्रेष्ठले यस बर्ष अत्यधिक गर्मी बढ्ने जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको र अनुमान अनुसार नै प्रतिदिन गर्मीको चाप बढ्दै गएकाले भेडेटारमा पर्यटकहरुको चाप घट्ने अवस्था नदेखेको बताए । 

गर्मीबाट आजित भई चिसोमा रमाउने अपेक्षा राखेर आउने सबै आन्तरिक तथा बाह्य पर्यटकहरुलाई खुसी तुल्याई कसरी कम्तीमा एक रात राख्न सकिन्छ भन्ने तर्फ चिन्ता गर्न पर्ने अवस्था सृजना भएको सचिव श्रेष्ठले बताए । उनले सवारी साधनलाई व्यवस्थापन गर्नका लागि तत्कालका लागि अस्थायी रुपमा भएपनि पार्किङको व्यवस्थापन गर्नु पर्ने देखिएकाले साँगुरीगढी गाउँपालिकाका जनप्रतिनिधि , भेडेटारमा रहेका पर्यटन व्यवसायी र प्रहरीसँग छलफल चलाएको सचिव श्रेष्ठले बताए ।