इटहरीः गोप्य सूचना प्राप्त भएपछि रातभर निगरानी बढाउँदा इटहरी प्रहरीले इटहरी उपमहानगरपालिका २० तरहरा क्षेत्रबाट तरकारी बोकेको ट्रकबाट  ठूलो परिमाणमा लागुऔषध गाँजा सहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।

कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–२० तरहरा जंगलनजिकैबाट २ क्वीन्ट भन्दा बढी गाँजा सहित ३ जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । 

लागुऔषध गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले धरानबाट इटहरीतर्फ आउँदै गरेको ना ५ ख ६११६ नम्बरको मिनी ट्रकलाई मंगलबार बिहानका राति १ः३० बजेतिर नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएको ट्रकभित्र ४८ बोरा बन्दाकोपी र १२ बोरा आलु लोड गरिएको थियो ।बन्दकोपी र आलुको बोराले छोपेर राखिएको अवस्थामा ट्रकभित्र ७० बोरा गाँजा फेला परेको सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए । उनका अनुसार ७० वटा बोरामा प्याक गरिएको अवस्थामा २ हजार १ सय किलो गाँजा बरामद भएको छ ।

WhatsApp Image 2025-06-17 at 8.55.21 AM

गाँजा बरामद भएसँगै ट्रक र ट्रक चालक धनकुटाको सहिदभूमि गाउँपालिका–६ का ३३ वर्षीय सुनील राई र ट्रकमा सवार ३२ वर्षीय राजेन्द्र राईलाई पक्राउ गरिएको जानकारी एसपी तिम्सिनाले दिए । साथै, चेकजाँचस्थलमा शंकास्पद रूपमा भेटिएका सुनसरीको बराहक्षेत्र नगरपालिका–९ का ३४ वर्षीय सुमन राईलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार गाँजाको ओसारपसारमा सुमनको संलग्नता छ कि छैन भन्नै बिषय पुष्टि भईसकेको छैन् । घटनाका बिषयमा  इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारी नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ । अघिल्लो दिन पनि धरानबाट डिउटीमा रहेको शसस्त्र प्रहरी बलको टोलीले गोप्य सूचनाकै आधारमा तरकारी बोकेर आएको  ट्रकबाटै ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको थियो ।  पछिल्लो समय धरान, इटहरी र इनरुवा क्षेत्रबाट रातको समय ठूलो परिणाममा गाँजा दैनिक जसो प्रहरीले नियन्त्रणमा लिईरहेको छ ।