इटहरीः २ ठूला नगरको फोहोर जलेर निस्कने धुवाँका कारण सिङ्गो गाउँ नै स्वास्थ्य समस्याबाट ग्रसित भएको छ । इटहरी र धरान उपमहानगरपालिकाको फोहोर जलेर निस्कने धुवाँले इटहरी–१९ भवानीपुरको सिंगो गाउँमा नै श्वसप्रश्वास समस्या देखा परेको हो ।

स्थानीय जयबहादुर पुरीको परिवारका ५ जना सदस्यमध्ये पाँचै जनामा स्वास्थ्य समस्या देखा पर्न थालेको छ । सबैको समस्या एकै प्रकारको देखिन्छ । घाँटी, टाउको दुख्ने तथा श्वासप्रश्वासमा समस्या देखिएको बताइएकोछ । नियमित औषधी सेवन गरे पनि अहिलेसम्म कसैको पनि स्वास्थयमा सुधार नभएको पुरी बताउँछन् ।

उनको जस्तै समस्यामा छन् काजीलाल गिरी पनि । उनका ६ र ८ वर्षका नातिनातिनालाई नियमित रूपमा क्लिनिक लगेर स्वास्थ्यजाँच गराउनुपर्छ । तैपनि घाँटी घ्यारघ्यार गर्ने, नाक बन्द हुनेजस्ता समस्याले अझैसम्म छाड्न सकेको छैन । डाक्टरले बारम्बार धुवाँधुलोबाट बचाउन भने पनि उनीहरूले त्यसो गर्न सकेका छैनन् ।

इटहरी र धरान उपमहानगरपालिकाको फोहोर जलेर निस्कने धुवाँको कारण सिङ्गो गाउँ नै समस्यामा परेको हो । गाउँमा आउने पाहुनालाई समेत धुवाँले समस्यामा पार्ने गरेको छ ।

२ हजार ५ सय घरपरिवार रहेको भवानीपुरमा हरेक घरमा श्वासप्रश्वास समस्या देखिन्छ । बालबालिका र वृद्धवृद्धामा निमोनिया र थाइराइडको समस्या बढी देखिएको स्थानीय चन्द्र बहादुर गिरीले बताए ।

आम्दानीको भरपर्दाे स्रोत पनि नभएको र गरीब परिवारका लागि उपचार असम्भव हुने गरेको छ । चन्द्रबहादुरका अनुसार दिनहुँजसो बालबालिका बिरामी हुने भएकाले उपचार असम्भव बन्दै गएको छ ।

जङ्गलबाट आउने धुवाँका कारण हरेक काम गर्दा मास्क लगाउनुपर्ने अवस्था सिर्जना भएको छ । जङ्गलदेखि पश्चिम दक्षिण क्षेत्रमा रहेको गाउँमा बिहान र साँझमा वहने उत्तरी हावाले धुवाँ गाउँतर्फ फैलाउने गरेको स्थानीय बताउँछन् ।

फोहोरबाट निस्कने तामा, फलामलागायत धातु फोहोरबाट उत्खनन हुने गरको छ । तिनै धातुको उत्खनन गर्नेले फोहोर जलाउने गरेका छन् । जसले गर्दा बिहान र बेलुकाको समय गाउँभर हुस्से लागेजस्तो गरी धुँवा फैलने गरेको छ ।

इटहरी उपमहानगरले हाँसपोसा सामुदायिक वनमा र धरानले बाँझागरा सामुदायिक वनमा फोहोर फ्याँक्दै आएका छन् । हाँसपोसा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष महेन्द्र गिरी वन समितिको अनुमति नै नलिई उपमहानगरले फोहोर फ्याँकेको बताउँछन् । केही समय अगाडि फोहोर फ्याँक्दै गर्छांै पछि सल्लाह गरौला भन्दै धमाधम फोहोर थुपार्ने गरेको गिरीको भनाइ छ ।

तर, इटहरी उपमहानगरपालिकाको फोहोर व्यवस्थापनको जिम्मा पाएको ‘बेस्ट एण्ड इन्भारो म्यानेजमेन्ट प्रालि’ ले सामुदायिक वनमै फोहोर फ्याँकेको स्वीकार गरेको छ । इटहरी उपमहानगरले उपलब्ध गराएको ल्याण्डफिल साइटमा प्राविधिक काम भइरहेकाले जङ्गलमै फोहोर विसर्जन गरेको प्रालिका अध्यक्ष देवेन्द्रकुमार सुब्बाको भनाइ छ ।

उता, धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी ‘भेन्टर वेस्ट टु इनर्जी प्रालि’सँग फोहोर व्यवस्थापनको सम्झौता भएको बताउँछिन् । दैनिक हजारौँ टन फोहोरबाट बायोग्यासदेखि जैविक मल उत्पादन गर्ने लक्ष्य रहेको उनको भनाइ छ । विगत लामो समयदेखि जङ्गलमै फ्याँक्दै आएको फोहोरलाई अब व्यवस्थित गर्न लागिएको उनको भनाइ छ ।

इटहरी उपमहानगरको दैनिक ४० टन फोहोर सामुदायिक वनमा थुप्रिने गर्छ । त्यस्तै धरान उपमहानगरको सरदर ५० टन फोहोर पनि चारकोशे झाडीमै विसर्जन हुँदै आएको छ । जसले गर्दा करिब १ सय बिघा सामुदायिक वन फोहोरले ओगटेको छ ।

ठूला उपमहानगरको फोहोरका कारण वन्यजन्तु र जङ्गलको विनाश हुने क्रम शुरु भएको छ । मानव बस्तीको नजिकै खोला किनारमा फोहोर विसर्जन गरिएकाले बर्खायाममा फोहोर बगेर घरसम्म आउने गरेको स्थानीय बताउँछन् । खेतीयोग्य जमिनमा सिसा, बोतल र प्लास्टिकले भरिएकाले खेती गर्नै समस्या हुन थालेको छ । धरान र इटहरीको फोहोर सेउती खोलाले बगाएर रामधुनी नगरपालिकाको खेतीयोग्य जमिनमा पु¥याउँछ ।

शहरको फोहोर व्यवस्थापन हुन नसक्दा त्यसको सिधा असर गाउँवासीमा परेको छ । गाउँको फोहोर सङ्कलन पनि नहुने तर गाउँमा नै खोलाले पनि बगाएर फोहोर ल्याउँदा गाउँवासी दोहोरो मारमा परेका छन् ।
धरान इटहरी सडकखण्डमा बिहान र साँझको समयमा यात्रा गर्ने यात्रुलाई समेत जङ्गलबाट आउने धुवाँका कारण अप्ठ्यारो हुने गरेको छ ।

यसरी प्रदेशका मुख्य शहर मानिएका इटहरी र धरानले फोहोर व्यवस्थापन गर्न नसक्दा जनताको स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा गम्भीर असर परिरहेको छ ।