सुनसरी : इटहरीस्थित आई सिनेमा सहितको इटहरी मल यति बेला लिलामीमा छ । एनआईसी एशिया बैंकको विराटनगर शाखाबाट मुभिज इन्टरटेन्मेन्ट प्रा.लिको नाममा १४ करोड ४० लाख रुपैयाँको ऋण लिइएको थियो । तर कोभिड १९ पछिको तरल आर्थिक अवस्था लगायतको कारण इटहरी मलले बैंकको किस्ता बुझाउन नसकेपछि हाल सिनेमा हलसहितको पुरै मल बैंकले लिलामीको सूचिमा राखेको छ । लिलामीको सूचना पटक पटक बैंकले निकाले पनि लिलामी प्रक्रियामा सहभागी हुनका लागि हालसम्म कसैको आवेदन परेको छैन ।
यो सँगै बैंकले सुनसरी जिल्ला अदालतबाट मल खाली गराउन आदेश समेत पाएको अवस्था छ । तर मलका तत्कालिन सञ्चालक रेवती दुलाल स्वयमले लिलामी सखार्ने तयारीमा छन् । तर बैंकले ‘असारको क्लोजिङ’को नाममा असार ४ गतेदेखि यता पाँच जना सेक्युरिटी गार्ड मलमा खटाएको छ ।
दुलालका अनुसार चैत्र १५ गते बैंक र आफूबिच लिलामी सखार्ने शर्तमा १० प्रतिशत रकम तिर्ने र नयाँ ऋण थप गर्ने सहमति भएको थियो । त्यही अनुरूप आफूले एक करोड ४० लाख रुपैयाँ रकम बैंकलाई बुझाउने अन्तिम समयमा एक्कासि बैंकले थप ३० प्रतिशत ऋण तिर्नुपर्छ भनेपछि आफू ‘अफट्यारो’ मा परेको दुलालको भनाई छ । त्यसपछि बैंकले मलमा गार्ड खटाएर ताला लगाउन खोजेको दुलाल बताउँछन् ।
साथै केही दिन अघि अदालतको आदेश अनुसार मलमा चलेका पसलहरूलाई खाली गराउने प्रयास भएको थियो । तर व्यवसायीबाट एक महिनाको समय माग गरिएपछि प्रहरी पछि हट्यो ।
‘मेरो श्रीमती र कम्पनीको नाममा दुई वटा ऋण हो, म लिलामी सखार्न तयार छु । तर बैंकले फरक फरक कुरा गर्न थालेसँगै गार्ड राखेपछि हामीलाई तनाव बनाइएको छ’ दुलालले प्रदेश पोर्टलसँग भने ‘म अहिले बैंकको सिइओसँग भेट्न काठमाडौँ आएको छ ।’ ‘यहाँ मेरो मात्र हैन सबैको आर्थिक अवस्था ‘डाउन’ छ । धेरैको प्रर्पटी लिलाममा छन् ।’ तर नियोजित रूपमा आफूलाई बढी ‘टार्गेट’ गरिएको दुलालको भनाई छ । यसमा प्रहरी प्रशासनको समेत भूमिका गलत भएको दुलालको आरोप छ ।
उनका अनुसार लिलाम सखारेर आफूले आइ सिनेमा र होटेललाई पूनं सञ्चालन गर्न खोजेको बताए । यसमा बैंकले समेत उचित वातावरण बनाइदिनु पर्ने सञ्चालक दुलाल बताउँछन् ।
सुरक्षा गार्डलाई लखेटेको आरोप
हाल आइ मलमा एनआईसी एशिया बैंकको विराटनगर शाखाबाट नर बहादुर भण्डारीको कमाण्डमा ५ जना सुरक्षा गार्ड खटाइएको छ । तर गार्डहरूलाई केही व्यक्तिले रड तथा भाटाले लखेट्ने र आक्रमण गरेका छन् । मल प्रवेशद्वारमा डिउटीमा खटिएका उनीहरूलाई लखेटिएपछि आफूहरू इलाका प्रहरी कार्यालय इटहरीको शरणमा आएको उनीहरूको भनाई छ ।
पटक पटक लखेटिएपछि आफूहरू दिनभर प्रहरी कार्यालय आसपास बसेर डिउटी गरिरहेको सुरक्षा गार्डहरू बताउँछन् । मलमा विराटनगरको गोर्खा सेक्युरिटी सर्भिसका गार्डहरू खटाइएको छ ।