इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका –५ स्थित अमहा सिमसारको जङ्गलमा कार र सर्टगन बरामद भएको घटनामा माओवादी केन्द्रको भातृ सङ्गठन (वाइसीएल) नेपालका नेता संलग्न भएको पाइएको छ । गत असार ९ गते अमाह सिमसारको जङ्गलमा बा ६ च ८४०३ नम्बरको कालो स्कोडा कार र (कार्तुस) गोली नभएको इङ्गल्यान्ड मेड सर्टगन बरामद भएको थियो । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार धरानबाट कालाबन्जार तर्फ आउँदै गर्दा कारमा सवार केही व्यक्ति प्रहरी चेकिङ देखेर कार छाडेर फरार भएको दाबी गरिएको थियो ।
घटनामा तीन जना संलग्न भएको पाइएको छ । जसमा योङ कम्युनिस्ट लिग नेपाल (वाइसीएल) का कोशी प्रदेश उपाध्यक्ष र केन्द्रीय सदस्य टाईसन केरुङ लिम्बु, चन्द्र लिम्बु र अर्का एक व्यक्ति छन् । कार भने वाइसीएल नेता लिम्बुले चलाएको दाबी गरिएको छ ।
प्रहरीले बरामद गरेको कार भने काठमाडौँका व्यवसायी अशोक कुमार गुप्ताको नाममा छ । यद्धपी धेरै समयदेखि यो कार लिम्बुले नामसारी बिनै चलाइरहेका थिए । यस्तै कार भित्र बरामद भएको इङ्गल्यान्ड मेड सर्टगन भने लाइसेन्स वाला भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीबाट बरामद भएको सर्ट गनको लाइसेन्स लिइएको छ ।
त्यसो त लाइसेन्स भएको हतियार यसरी नियम विपरीत साथमा लिएर हिँड्नु गैर कानुनी मानिन्छ । कारबाट फरार मध्येका एक व्यक्ति भने हङकङबाट केही दिन अघि मात्र नेपाल आएको बताइएको छ । कार र हतियारसहित मानिष जङ्गलबाट भेटिनु अनि प्रहरी देखेर फरार हुनुको पछाडि चोरी सिकारी वा गाँजाको कारोबार हुन सक्न अनुमान गरिएको छ । साथै बरामद सर्ट गनको गोली नभेटिनु पनि शङ्कास्पद मानिएको छ ।
यता इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुवरका अनुसार बरामद कार र हतियारको विषयमा अनुसन्धान भइरहेको प्रदेश पोर्टललाई जानकारी दिए । बरामद सर्टगनको लाइसेन्स भएको र थप अनुसन्धान गर्न हतियारलाई विधि विज्ञान प्रयोगशाला पठाइएको बताए । गाडीको मालिक पहिचान भएको र त्यसै आधारमा अरूको खोजी भइरहेको उनले बताए ।
यो प्रकरणलाई सेटलमेन्ट गर्न केही नेता प्रहरीका उच्च अधिकृतसँग लागि परिरहेको दाबी गरिएको छ ।