भोजपुरः रामप्रसाद राई गाउँपालिका–२ को धोदलेखानी बोन्थिताङ भन्ने ठाउँ भोजपुरको विकट बस्ती हो । यो ठाउँ पुग्न सदरमुकामबाट कम्तीमा ५–६ घण्टा लाग्छ । नजिकैको प्रहरी युनिटबाट टोली पठाउँदा पनि सो ठाउँमा पुग्न कम्तीमा २ घण्टा लाग्छ ।
यही ठाउँबाट आइतबार मध्यराति जिल्ला प्रहरी कार्यालय भोजपुरको प्रहरी कन्ट्रोल १०० मा एक युवकले हडबडाउँदै फोन गरे, ‘मेरो ज्यान खतरामा छ, तीन जनालाई छुरा हानेर आएको छु ।’
कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीका अनुसार प्रहरी कन्ट्रोलमा फोन आउनासाथ अस्थायी प्रहरी चौकी ओख्रे, इलाका प्रहरी कार्यालय घोडेटारबाट टोली सो ठाउँमा खटिएको थियो । जिल्ला प्रहरी कार्यालयबाट समेत अर्को टोली पठाइएको थियो ।
टोली पुगेर त्यहाँ जे दृश्य देख्यो, त्यो दृश्य हृदयविदारक थियो । जताततै रगतै रगत । अनि चार जनाको शव । शव पनि बालकदेखि वृद्धसम्मका । प्रहरीलाई सूचना दिने व्यक्तिले तीन जनामाथि आफूले छुरा प्रहार गरेको भनेका थिए । तर, शव भने चार जनाको थियो । त्यो पनि एकै परिवारको ।
जुन घरमा शव भेटिएको थियो, त्यो घर बाँसको छाप्रोले बनेको थियो । त्यही घरभित्र खाटमा एकैठाउँ ६८ वर्षीय बेलबहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, उनीहरूका १६ वर्षीया छोरी मनीषा गिरी र १० वर्षीय छोरा सपन गिरीको शव भेटिएको थियो ।
अनि उनीहरूको हत्या गर्ने व्यक्ति थिए भोजपुर नगरपालिका–२ हेलाउँछ बस्ने ३० वर्षीय राजेन्द्र राई । राई गिरी दम्पतीका ज्वाईं हुन् अर्थात् मनीषाका पति । तिनै राईले ससुराली घरमा गएर यस्तो बीभत्स घटना गराएका हुन् ।
राई आफैंले गराएको घटनाबारे प्रहरीलाई जानकारी गराएको भए पनि प्रहरी पुग्दा उनी थिएनन् । उनलाई खोज्न प्रहरीलाई झन्डै आधा घण्टा लागेको थियो । उनलाई हर्बु भञ्ज्याङबाट प्रहरीले पक्राउ गरेको थियो । पेटमा छुरा लागेका उनी रगताम्य अवस्थामा थिए । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
प्रारम्भिक सोधपुछमा उनले आफूमाथि परिवारका सबैले आक्रमण गरेपछि प्रतिकार गरेको दाबी गरेका छन् । प्रहरीका अनुसार भोजपुर सदरमुकाममा पेन्टरको काम गर्दै आएका राईको आफूभन्दा आधा उमेरकी मनीषासँग प्रेम सम्बन्ध जोडिएको थियो । परिवारले नमान्ने भएपछि उनले मनीषालाई भगाएर लगेका थिए । झन्डै नौ महिना उनीहरू सँगै पनि बसेका थिए ।
तर, मनीषाका बाबुआमाले उनीहरूको त्यो ‘विवाह’लाई स्विकारेनन् । एक त नाबालिका, छोरीलाई भगाउने व्यक्ति दोब्बरभन्दा बढी उमेरको र अन्तरजातीय पनि भएको भन्दै उनीहरूले छोरी मनीषालाई डेढ महिनाअघि आफूसँगै लगे । यो कुरा राईलाई मन परेको थिएन । त्यसपछि उनी ६ दिनअघि मात्रै श्रीमती लिन भन्दै गिरीको घरमा पुगेका थिए । तर, उनलाई परिवारले छोरी दिएनन्, त्यही विषयमा शनिबार राति पनि झगडा भएको उनले बताएका छन् । एक प्रहरी अधिकृतले भने, ‘त्यसपछि सबैले मिलेर आक्रमण गरे भन्ने उसको दाबी छ, तर घरका सबै सदस्यको मृत्यु भइसकेकाले यो विषय पुष्टि हुन भने कठिन देखिन्छ ।’
पारिवारिक विषयमा उनीहरूका बीचमा मनमुटाव हुँदा विवादले हत्याको रूप लिएको हुनसक्ने प्रहरीको आकलन छ । राईले भने राति खाना खाएर सबै जना सुतेको र सल्याङबल्याङ आवाज आएपछि आफू ब्युँझिदा परिवार नै मिलेर आफ्नो हत्या गर्ने प्रयास भएको आरोपीले प्रहरीलाई बताएका छन् । उनले भनेका छन्, ‘सबै जना सुतिरहेका थियौं सल्याङबल्याङ आवाज आएपछि उठेर हेर्दा सासूले मलाई पेटमा छुरा प्रहार गर्नु भो, त्यही छुरा खोसेर मैले प्रहार गरें ।’
प्रहरीले यस घटनालाई विभिन्न पक्षबाट अनुसन्धान गर्ने क्रममा मृतकका परिवार र राजेन्द्रसँग नजिक रहेका मानिससँग समेत सोधपुछ गरिरहेको छ । यस घटनाका कारण गाउँ नै शोकमा डुबेको छ । यो खबर आजको राजधानी दैनिकबाट लिइएको हो ।