सुनसरी : इटहरीमा महिला ट्राफिक प्रहरीले सवारी चेकजाँचको क्रममा पैसा लिएको भिडियो सार्वजनिक भएपछि विभागीय छानबिन हुने भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले खनारमा कार्यरत ती महिला ट्राफिक प्रहरीको छानबिन थालेको हो । तीन सदस्य छानबिन समितिले बिहीबारवाट काम थालेको जनाइएको छ । कोशी राजमार्ग अन्तर्गत इटहरी खनारस्थित चेकजाँचको क्रममा सिटी सफारी चालकसँग पैसा लिएको भिडियोमा देखिन्छ ।
भिडियो केही महिना अघिको भएको दाबी गरिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका निमित्त प्रमुख डिएसपी सन्तोष श्रेष्ठले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि कार्यालयबाट छानबिन समिति गठन भई बिहीबारवाट काम थालेको प्रदेश पोर्टललाई जानकारी दिए । ‘सिटी सफारी चालकको हातबाट महिला ट्राफिक प्रहरीले केही कुरा लिएको जस्तो देखिन्छ, पैसा नहुन पनि सक्छ ! यसैको छानबिन गर्न समिति बनाएका छौं’ श्रेष्ठले भने ‘गलत देखिए कारबाही गछौं ।’ श्रेष्ठका अनुसार हाल ती महिला ट्राफिकलाई जिम्मेवारीबाट हटाइएको समेत जानकारी दिए । भिडियो लिङ्क ।
प्रहरी स्रोतका अनुसार भिडियो प्रति प्रहरी प्रधान कार्यालयको समेत ध्यानाकर्षण भएको बताइएको छ ।
हाल कोशी प्रदेशमा सवारी चेकजाँचको क्रममा ट्राफिक प्रहरीले चालकहरूसँग यसै गरी पैसा असुलेको घटना सार्वजनिक भइरहेका छन् । केही महिना अघि मात्र पूर्व पश्चिम राजमार्गस्थित सुनसरीको कोशी कटानमा चेकजाँचको क्रममा ट्राफिक प्रहरीले स्थानीय किसानहरूको सवारी साधनाबाट पैसा उठाएको विषयमा कोशी गाउँपालिकाका अध्यक्ष स्वयमले ट्राफिक प्रहरीको बेतिथिको प्रतिवाद गरेका थिए । यस्तै कोशी ब्यारेज नजिकैको राजमार्ग चेकजाँचमा समेत ट्राफिक प्रहरीले चालकहरूसँग पैसा लिएको भिडियो सार्वजनिक भएको थियो ।

ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनबाट जरिवाना नलिई पैसा असुलेर सवारी छाड्ने र ट्राफिक नियम पालना गर्ने सवारी साधनालाई समेत अनावश्यक दु: ख दिएर पनि पैसा असुल्ने गरेको गुनासो र आरोप ट्राफिक प्रहरीमाथि छ ।
कोशी प्रदेशको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन हेर्ने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका निमित्त प्रमुख डिएसपी श्रेष्ठले यस्ता गुनासो र आरोप प्रति गम्भीर भएर काम गर्न मातहतका सबै जिल्ला र युनिटहरूलाई स्पष्ट निर्देशन दिएको बताएका छन् । साथै उनले ट्राफिक प्रहरीसँग कुनै गुनासो वा गल्ती गरे सिधै कार्यालयमा जानकारी गराउन चालकहरूसँग आग्रह गरे ।